एनपीएललाई आईसीसीको ‘ग्रिन सिग्नल’, तर शर्तको भारी
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले औपचारिक रूपमा स्वीकृति (स्याङ्सन) दिएको छ।
क्यानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव तथा पूर्वकप्तान पारस खड्काले आईसीसीबाट प्रतियोगिता सञ्चालनका लागि आधिकारिक स्वीकृति पत्र प्राप्त भएको जानकारी दिए।
यद्यपि यो मान्यता तेस्रो सिजनको लागि मात्र भएको उनको भनाइ छ।
उनका अनुसार आईसीसीको पत्र प्राप्त हुनासाथ क्यानले सबै मापदण्ड स्वीकार गर्दै प्रक्रिया अघि बढाइसकेको छ भने सोमबारसम्म प्रतियोगिताको आधिकारिक टी-२० मान्यतासम्बन्धी थप औपचारिकता पूरा हुनेछ।
एनपीएललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार भव्य र विवादरहित बनाउन आईसीसीको निर्देशिकाअनुसार चल्नुपर्ने उनले जानकारी दिए।
टिममा ८ जनासम्म विदेशी खेलाडी राख्न पाइने
आईसीसीको मान्यता पाएसँगै यसअघि चारदेखि ६ जना विदेशी खेलाडीको सीमा रहेकोमा नयाँ व्यवस्थाअनुसार हरेक फ्रेन्चाइज टोलीले आफ्नो स्क्वाडमा ६ देखि अधिकतम ८ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।
चोटपटक लागेर खेलाडी फेर्नुपरे पनि विदेशी खेलाडीको कुल संख्या ८ भन्दा बढी हुने छैन। यद्यपि, प्लेइङ-११ मा भने विगत झैँ ७ जना नेपाली र ४ जना विदेशी खेलाडी नै मैदान उत्रनेछन्।
आठ जना विदेशी खेलाडीमध्ये कम्तीमा एक जना एशोसियट नेसनको हुनुपर्ने प्रावधान राखिएको छ।
अवकाशप्राप्त विदेशी खेलाडीलाई पनि एनओसी अनिवार्य
आईसीसीको मान्यता पाएसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका विदेशी खेलाडीहरूले समेत एनपीएल खेल्नका लागि आफ्नो सम्बन्धित देशको क्रिकेट बोर्डबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यो नियम सबै विदेशी खेलाडीमा समान रूपमा लागू हुने सचिव खड्काले पत्रकार सम्मेलनमा जानकारी गराए।
अनधिकृत क्रिकेट खेलेकालाई प्रतिबन्ध
आईसीसी वा सम्बन्धित बोर्डको अनुमतिबिना आयोजना भएका कुनै पनि अनधिकृत प्रतियोगिता (डिसअप्रुभ्ड क्रिकेट) मा पछिल्लो ६ महिनाभित्र सहभागी भएका खेलाडी, प्रशिक्षक वा पदाधिकारीहरूले एनपीएलमा सहभागी हुन पाउने छैनन्।
म्याच फिक्सिङविरुद्ध आईसीसीकै कडा कानुन
एनपीएलमा भ्रष्टाचार र खेल मिलेमतो (स्पट तथा म्याच फिक्सिङ) रोक्न आईसीसीको ‘एन्टी-करप्सन कोड’ पूर्ण रूपमा लागू हुनेछ। नेपालको प्रचलित कानुनका साथै आईसीसीको अन्तर्राष्ट्रिय नियमअनुसार यसको अनुगमन, छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइनेछ।
डिएसआर र विदेशी अम्पायरको तयारी
प्रतियोगितामा निष्पक्षताका लागि डिसिजन रिभ्यु सिस्टम (डिएसआर) भित्र्याउने तयारी भइरहेको छ। यस्तै नेपाली अम्पायरहरूसँगै विदेशी अम्पायरहरूलाई पनि मैदानमा उतार्न आवश्यक छलफल भइरहेको र दुई-तीन दिनभित्र यसबारे विस्तृत निर्णय सार्वजनिक गरिने क्यानले जनाएको छ।
एनपीएलकै दौरान नेपालमा ‘आईसीसी एसिया कन्फरेन्स’
एनपीएलकै अवसर पारेर क्यानले काठमाडौंमा तीन दिने ‘आईसीसी एसिया कन्फरेन्स’ आयोजना गर्ने भएको छ। आगामी मंसिर ४ देखि ६ (नोभेम्बर १९ देखि २१) सम्म हुने यस सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सहभागी हुनेछन्।
विदेशी क्रिकेट प्रमुखहरूले सम्मेलनका साथै एनपीएलका खेलहरूसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्। यसले नेपालको क्रिकेट, पर्यटन र व्यवस्थापकीय क्षमतालाई विश्वसामु चिनाउन ठूलो भूमिका खेल्ने विश्वास क्यानले लिएको छ।
असोज ३१, २०८३ शनिबार १९:३८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।