भन्सार लिलामीका नाममा ठगी गरेको आरोपमा साह पक्राउ

भन्सार लिलामीका नाममा ठगी गरेको आरोपमा साह पक्राउ

पर्सा : वीरगञ्ज भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तोमा मिलाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जना बिचौलिया पक्राउ परेका छन्। 

काठमाडौं डेरा गरी बस्ने सर्लाहीका २७ वर्षीय प्रवीण साह बिहीबार वीरगञ्जबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार साहले आफूलाई सशस्त्र प्रहरी सहायक निरीक्षक र भन्सार एजेन्टहरूसँग निकट सम्बन्ध रहेको भनेर सर्वसाधारणसँग झूटो दाबी गर्ने गरेका थिए।

भन्सार लिलामी प्रक्रिया मिलाइदिने आश्वासन दिई उनले विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन हुने गरेको प्रहरी जनाएको छ। मल्लका अनुसार निजलाई वीरगञ्ज महानगरपालिका-८ घण्टाघरस्थित प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी कानुनबमोजिम म्याद थप भई अनुसन्धान अगाडि बढाएको छ।

बिचौलिया कार्यमा संलग्न रहेका अन्य व्यक्तिको पहिचान गर्ने कार्यका लागि प्रहरी कार्यालयबाट विशेष निगरानी र आवश्यक प्रमाण सङ्कलन कार्य भइरहेको मल्लले जानकारी दिए।

उनले भने, “बिचौलियाको काम गर्ने व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउने भएकाले बिचौलिया काम गर्ने व्यक्तिको विश्वासमा नपर्न, सम्पर्कमा नबस्न तथा बिचौलियाको काम गर्ने व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन पनि सर्वसाधारणमा जानकारी गराइन्छ।”

असोज २९, २०८३ बिहीबार २१:४०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।