शपथ ग्रहणपछि सभापति गगन थापाले भने - 'यो जिम्मेवारी अहङ्कारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो’

शपथ ग्रहणपछि सभापति गगन थापाले भने - 'यो जिम्मेवारी अहङ्कारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो’

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 

काठमाडौंमा असोज १८ देखि २२ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित थापालाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । 

‘प्रतिज्ञा पत्र’ नाम दिइएको शपथ पत्र वाचन गरेपछि सभापति थापाले त्यसमा हस्ताक्षर गरेका छन्। शपथलगत्तै नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले सभापति थापाको गलामा दुबोको माला लगाइदिएका थिए।

शपथग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सभापतिको जिम्मेवारीलाई अहङ्कारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताए। उनले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट नै आफ्नो प्रतिबद्धताको वास्तविक परीक्षण हुने धारणा व्यक्त गरे।

"अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ। मैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ," उनले भने।

नेपाली काङ्ग्रेससँग लोकतन्त्रको ठूलो ऐतिहासिक विरासत जोडिएको उल्लेख गर्दै उनले उक्त विरासतको संरक्षण र प्रवर्द्धन गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको स्पष्ट पारे। सभापतिको पदले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै उनले भने, "यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ। यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन।"

महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण भने दसैँपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ।

थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन्।

असोज ३१, २०८३ शनिबार १५:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।