चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए
काठमाडौं : चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन्।
थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ। सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले नयाँ सिट थपिएका हुन्।
यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ।
त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन्।
असोज ३१, २०८३ शनिबार १६:०७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।