शाही उपाधि त्यागेको ६ वर्षपछि बेलायतको सार्वजनिक कार्यक्रममा देखिए ह्यारी र मेघन
लन्डन : बेलायती राजपरिवारको वरिष्ठ जिम्मेवारी त्यागेको ६ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कल बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्।
बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घमस्थित तीनवटा परोपकारी संस्थाको भ्रमण गर्दै यो दम्पतीले पुरानो सम्बन्ध पुनः जोड्ने र आफ्नो सार्वजनिक छवि स्थापित गर्ने प्रयास गरेको छ।
राजा चार्ल्स तृतीयले ह्यारी र मेघन राजपरिवारका ‘सक्रिय सदस्य’ (वर्किङ रोयल्स) नरहेको प्रस्ट पारिसकेका छन्।
बकिङ्घम दरबारले गत सेप्टेम्बरमै उनीहरूलाई शाही पदवी (एचआरएच) प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा मात्र गर्न निर्देशन दिएको थियो।
यो दम्पतीको अत्यधिक लोकप्रियताका कारण सक्रिय राजपरिवारका सदस्यहरूको चर्चा छायामा पर्न सक्ने चिन्ता दरबारका केही अधिकारीहरूमा देखिएको छ।
नटिङ्घम भ्रमणका क्रममा उनीहरूले विपन्न युवालाई खेलकुद र शिक्षा उपलब्ध गराउने ‘एपिक पार्टनर्स’, युवाको सीप विकास गर्ने ‘कम्युनिटी रेकर्डिङ स्टुडियो’ र खाद्य सहायता केन्द्र ‘हिम्मा’को अवलोकन गरेका थिए।
ह्यारी एक दशकभन्दा लामो समयदेखि यी संस्थाहरूसँग आबद्ध छन् भने मेघनले सन् २०१८ मा एक परोपकारी पुस्तकमार्फत ‘हिम्मा’सँग सहकार्य गरेकी थिइन्।
सन् २०२० मा शाही जिम्मेवारी त्यागेर अमेरिकाको क्यालिफोर्निया सरेका ह्यारी र मेघनले नेटफ्लिक्स र स्पोटिफाईजस्ता प्लेटफर्मसँग व्यावसायिक सम्झौता गरेका थिए।
त्यस क्रममा मेघनको मानसिक स्वास्थ्यप्रति दरबार उदासीन रहेको र राजपरिवारभित्रै रङ्गभेद भएको आरोप लगाएपछि उनीहरूको सम्बन्ध निकै चिसिएको थियो।
यद्यपि, पछिल्ला महिनाहरूमा सम्बन्ध सुधारका सङ्केतहरू देखिएका छन्।
सन् २०२४ मा क्यान्सर पुष्टि भएपछि उपचार गराइरहेका पिता राजा चार्ल्ससँग ह्यारीले मेलमिलाप गर्न चाहेको र आफ्ना छोराछोरीले हजुरबुवालाई चिन्ने अवसर पाऊन् भन्ने इच्छा व्यक्त गरेका छन्।
अमेरिकामा बसोबास गर्दै आए पनि बेलायत भ्रमणका क्रममा सुरक्षाको विषय अझै विवादित छ। राजकीय हैसियत त्यागेपछि बेलायत सरकारले हटाएको सार्वजनिक कोषबाट प्राप्त हुने प्रहरी सुरक्षा पुनः पाउनुपर्ने माग ह्यारीले राख्दै आएका छन्।
सुरक्षा अभावकै कारण परिवार जोखिममा परेको र छोराछोरीको विद्यालयसमेत परिवर्तन गर्नुपरेको ह्यारीको दाबी छ।
असोज २९, २०८३ बिहीबार १०:२५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।