पाकिस्तानमा इमरान खानको गढमा संकटकाल, प्रान्तीय सरकार निलम्बन गर्दै सेना हाबी

पाकिस्तानमा इमरान खानको गढमा संकटकाल, प्रान्तीय सरकार निलम्बन गर्दै सेना हाबी

एजेन्सी : सडकभरि तेर्स्याइएका ठूला-ठूला मालवाहक कन्टेनर, आंशिक रूपमा बन्द गरिएको इन्टरनेट, बन्द शैक्षिक संस्था र सडकमा तैनाथ पाकिस्तानी सेना।

पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक गढ मानिने खैबर पख्तुनख्वा प्रान्तमा संघीय सरकारले ‘संकटकाल’ घोषणा गर्दै त्यहाँको प्रान्तीय सरकारलाई निलम्बन गरेको छ।

खान नेतृत्वको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का समर्थक र वर्तमान सरकारबीच चुलिएको टकरावले अहिले पाकिस्तानलाई फेरि गम्भीर राजनीतिक अस्थिरतातर्फ धकेलेको छ।

विश्लेषकहरूका अनुसार सरकारको यो कदमले शान्ति स्थापना गर्नुको साटो संकटलाई झनै बल्झाउने खतरा बढाएको छ।

आतंकवादको बहाना कि राजनीतिक प्रतिशोध ?
केन्द्र सरकारले संविधानअनुसार खैबर पख्तुनख्वाका जनतालाई ‘आतंकवादको खतराबाट जोगाउन’ संकटकाल लगाइएको दाबी गरेको छ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले पीटीआई नेतृत्वको प्रान्तीय सरकार आतंकवादसँग मिलेमतोमा रहेको आरोप लगाएका छन्। यद्यपि, सरकारले यसको कुनै ठोस प्रमाण भने सार्वजनिक गरेको छैन।

यता राजनीतिक पर्यवेक्षकहरू भने संकटकाल लगाइनुको मुख्य कारण पीटीआईको प्रदर्शन रोक्नु रहेको बताउँछन्। पछिल्लो एक हप्तादेखि खैबर पख्तुनख्वामा इमरान खानका हजारौं समर्थकहरू उनको रिहाइको माग गर्दै सडकमा उत्रिएका थिए, जहाँ पीटीआई विगत १३ वर्षदेखि सत्तामा छ।

राजनीतिक टिप्पणीकार आरिफा नूर भन्छिन्, ‘यसको आतंकवादसँग कुनै सम्बन्ध देखिँदैन। विपक्षी दललाई सत्ताबाट हटाउन र आन्दोलन दबाउन सरकारले यो हतियार प्रयोग गरेको प्रस्ट हुन्छ।’

प्रदर्शनको नेतृत्व गरिरहेका प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदी यतिबेला बेपत्ता छन्।

पीटीआईले उनलाई पक्राउ गरिएको आरोप लगाएको छ भने सरकारले उनी ‘सुरक्षाका कारण नियन्त्रणमा रहेको’ बताएको छ। यसअघि नै इमरान खानका तीन दिदीबहिनीलाई प्रदर्शन भड्काएको आरोपमा हिरासतमा लिइसकिएको छ।

सेनाको हातमा सम्पूर्ण सत्ता
अगस्ट २०२३ देखि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारका विभिन्न मुद्दामा सजाय सुनाइएको छ, जसलाई उनले ‘राजनीतिक पूर्वाग्रह’ भन्दै आएका छन्।

लामो समयदेखि थुनामा रहेका खानको स्वास्थ्य बिग्रँदै गएपछि पीटीआई कार्यकर्ताहरू पछिल्ला महिनामा झनै आक्रामक बनिरहेका थिए।

इस्लामाबादस्थित लेखक तथा रक्षा विश्लेषक जाहिद हुसेनका अनुसार अहिले देशको सत्ता समीकरण पूर्ण रूपमा सेनाको पक्षमा ढल्किएको छ।

सरकारले विरोधी आवाजलाई ठाउँ दिन नचाहेको र सेनाको इसारामा लोकतान्त्रिक संस्थाहरूलाई पन्छाउने काम भइरहेको विश्लेषकहरूको ठम्याइ छ।

‘आगोसँग खेल्दैछ सरकार’
अटलांटिक काउन्सिलका वरिष्ठ दक्षिण एसिया फेलो माइकल कुगेलम्यान सरकारको यो कदम प्रत्युत्पादक हुन सक्ने चेतावनी दिन्छन्।

‘सरकार यतिबेला आगोसँग खेलिरहेको छ,’ कुगेलम्यान भन्छन्, ‘यदि यो कदमले खैबर पख्तुनख्वाका जनतामा आक्रोश र असन्तोष झन् बढायो भने त्यसले सिंगो देशलाई धान्न नसक्ने संकटमा पुर्याउनेछ।’

पाकिस्तान अहिले चौतर्फी चुनौतीले घेरिएको छ। देशमा उग्रवाद तीव्र गतिमा बढिरहँदा छिमेकी अफगानिस्तानमा पाकिस्तानले बारम्बार हवाई आक्रमण गर्दै आएको छ।

तालिवानसँगको सम्बन्ध निकै तिक्ततापूर्ण छ भने भारतसँगको पुरानो तनाव पनि यथावत् छ।

पाकिस्तानमा निर्वाचित सरकारलाई हटाएर सेना हाबी हुँदा विगतमा देशले ठूलो मूल्य चुकाउनुपरेको इतिहास छ।

असोज २९, २०८३ बिहीबार १४:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।