दशैंको शुभकामना दिदै प्रधानमन्त्रीले भने - 'विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ'

दशैंको शुभकामना दिदै प्रधानमन्त्रीले भने - 'विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ'

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले बडादशैंको शुभकामना दिँदै रसुवा, नुवाकोट र गोर्खा लगायतका स्थानमा भएका विनाशकारी विपद्मा ज्यान गुमाएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गरेका छन्।

विपद्बाट विस्थापित नागरिकहरूको पुनःस्थापनाका निम्ति सरकारले तदारुकताका साथ काम गरिरहेको बताउँदै प्रधानमन्त्री शाहले नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका समेत स्मरण गरे।

“कुनै बेला भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दशैं आयो र गयो। अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दशैंआयो। हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ,” उनले लेखेका छन्। 

शुभकामना सन्देशमा प्रधानमन्त्रीले गाउँका घरआँगनहरू रित्तिँदै गएको र लाखौँ नेपालीहरू परदेशमा रित्तो निधार लिएर बस्न बाध्य भएको यथार्थप्रति दुःख व्यक्त गरे। वैदेशिक रोजगारीको यो नियति बदल्न सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उनले देशको समृद्धि, सुशासन र नागरिकको सुखद जीविकाका लागि सरकार अहोरात्र खटिरहेको बताए।

उनले लेखेका छन्, “सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु।”

दशैंजस्तो महान् पर्व आर्थिक अभावका कारण कसैका लागि पनि बोझ बन्नु हुँदैन भन्नेमा सरकार सचेत रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले दशैं एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताए। उनले बडादशैं बडाका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने सानालाई, माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्। उनले सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई आग्रह गर्दै दशैंले देशमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने विश्वास व्यक्त गरे।

शुभकामना सन्देशमा भनिएको छ, “दशैंको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादशैंको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सभ्य र भव्य रूपमा दशैंमनाऔँ।”

 

असोज ३१, २०८३ शनिबार १३:२७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।