दशैँ अवधिभर मौसम सफा रहने, हिमाली भेगमा हिमपात र हल्का वर्षाको सम्भावना

दशैँ अवधिभर मौसम सफा रहने, हिमाली भेगमा हिमपात र हल्का वर्षाको सम्भावना

काठमाडौं : दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

नेपालबाट मनसुन बाहिरिइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् डेभिड ढकालका अनुसार फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा अन्य प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

फूलपातीका दिन देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

यस्तै, रातिको समयमा देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।

अष्टमी अर्थात् कात्तिक १ गते पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

अष्टमीका दिन पनि देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

रातीको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।

कात्तिक २, ३ र ४ गते अर्थात् नवमी र दशमीसम्म पनि देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ।

यी दिनमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

समग्रमा यस वर्षको दशैँमा अधिकांश स्थानको मौसम सामान्यतया अनुकूल रहने देखिए पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्ने देखिन्छ। 

तराईका केही स्थानमा बिहानीपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले पनि जनजीवन र यात्रामा प्रभाव पार्न सक्ने छ।

असोज ३१, २०८३ शनिबार ११:५८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।