दशैंको शुभकामना : ‘सद्भाव, सहकार्य र राष्ट्रिय एकता बलियो बनाऔं’

दशैंको शुभकामना : ‘सद्भाव, सहकार्य र राष्ट्रिय एकता बलियो बनाऔं’

काठमाडौं : बडादशैंको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ बनाउन आह्वान गरेका छन्।

शनिबार छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले दशैंले विविधतायुक्त नेपाली समाजमा आपसी भाइचारा, सहिष्णुता र मेलमिलापलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ-आफ्नै परम्परा रहे पनि दशैंले पारिवारिक मिलन र सामाजिक सद्भाव मजबुद बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए। दशैं अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयोत्सव भएको उल्लेख गर्दै उनले दशैंले सांस्कृतिक पहिचान अक्षुण्ण राख्न सघाउ पुर्याएको बताए।

पौडेलले देशका विभिन्न भागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःखसमेत व्यक्त गरे। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले प्रभावितहरूको पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न सबै पक्षसँग अपिल गरे।

त्यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दशैं धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजय भएको बताए। असत्य, अन्याय, विभेद र हिंसामाथि मानवता र विवेकको जित सुनिश्चित हुने सन्देश दशैंले बोकेको उल्लेख गर्दै उनले दुर्गुणहरू त्यागेर सहकार्य र सद्भावको मार्गमा अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

पारिवारिक पुनर्मिलन र अग्रजको आशीर्वादले सामाजिक सम्बन्ध थप बलियो बन्ने उल्लेख गर्दै यादवले विभाजनभन्दा माथि उठेर साझा राष्ट्रिय हित र समुन्नत नेपाल निर्माणमा अग्रसर हुन दशैंले प्रेरणा दिने विश्वास प्रकट गरे।

प्रधानमन्त्री वालेन्द्र शाहले दशैंलाई विश्वभर छरिएका नेपालीलाई जोड्ने र आर्थिक रूपमा सबैभन्दा चलायमान पर्वका रूपमा रहेको बताए। रसुवा, नुवाकोट, गोरखालगायतका क्षेत्रमा भएको प्रलयकारी विनाशको शोककै बीच दशैं आएको भन्दै उनले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे। 

सरकारले विस्थापित नागरिकहरूको पुनःस्थापनामा तदारुकताका साथ काम गरिरहेको जनाउँदै उनले सुशासन र नागरिकको आर्थिक सम्पन्नताका लागि सरकार अहोरात्र खटिरहेको समेत बताए। रोजगारीका अभावमा युवा विदेशिँदा गाउँघर रित्तिँदै गएको औँल्याउँदै शाहले परदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौं नेपालीको नियति बदल्न सबैको हातेमालो आवश्यक रहेको बताए।

यस्तै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न दशैंले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी उनले शुभेच्छा प्रकट गरे।

असोज ३१, २०८३ शनिबार १०:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।