मनोचिकित्सक प्रभात : श्रीमतीलाई शंकाको नजरले हेरिरहने ‘रोग’ चट्टै पारे, कुलतले गलिसकेकालाई बचाए

मनोचिकित्सक प्रभात : श्रीमतीलाई शंकाको नजरले हेरिरहने ‘रोग’ चट्टै पारे, कुलतले गलिसकेकालाई बचाए

मनोपरामर्श र औषधिको माध्यमबाट सयौँ मानिसको उथलपुथल मनलाई शान्त बनाइसकेका छन्, मनोचिकित्सक डा. प्रभात सापकोटाले।

मनमा परेको गहिरो चोटको कारण पत्ता लगाउनु, असन्तुलित बनेको मनलाई सन्तुलित अवस्थामा फर्काउनु अनि औषधि उपचार गर्नु र परामर्श दिनु उनको चिकित्सकीय कर्मसँगै दैनिकी पनि हो।

चिकित्सकीय पेसाको यही सिलसिलामा उनले मनका अनेकौँ जटिलता र मानवीय संवेदनालाई नजिकबाट देखे-भोगेका छन्। उनै डा. प्रभातले आफ्नो चिकित्सकीय जीवनका अविस्मरणीय अनुभव उकेरासँग यसरी साटे:

जब शंकाको भ्रम मेटिएपछि जोडियो भत्किन लागेको सम्बन्ध
कुरा करिब पाँच वर्षअघिको हो। ३२ वर्षीय एक युवकलाई परिवारले अस्पताल पुर्यायो। ती युवकमा श्रीमतीप्रति अचाक्ली शंका गर्ने समस्या दिनदिनै बढ्दो थियो।

‘श्रीमती परपुरुषसँग अनैतिक सम्बन्धमा छे, अरूसँगै हिमचिम बढाएकी छे’ भन्ने भ्रम उनको दिमागमा यसरी गढ्यो कि त्यसले उनलाई रातदिन तनाव दिन्थ्यो।

मनमा पैदा भएको यही भ्रमका कारण उनी श्रीमतीप्रति आक्रामकसमेत बन्थे। उनी श्रीमतीको चियोचर्चो गर्थे, लुकीलुकी पछ्याउँथे र कोही पुरुषसँग मुस्कुराएर बोलेको देखे मात्रै पनि शंका गरिहाल्थे। तर वास्तविकता फरक थियो।

श्रीमती न कसैसँग नजिकिएकी थिइन्, न उनको कसैसँग कुनै अनैतिक सम्बन्ध नै थियो। उनी श्रीमान् र दुई सन्तानप्रति पूर्ण बफादार थिइन्। तर दिनहुँको अनावश्यक शंका, झगडा र कलहबाट आजित भएर श्रीमतीले अन्ततः सम्बन्धविच्छेदकै निष्कर्ष निकालिन्।

घरबार नै भत्किने अवस्था आएपछि बुवाले छोरालाई कुनै मानसिक समस्या पो छ कि भन्दै डा. प्रभातकहाँ ल्याए। मानसिक स्वास्थ्य परीक्षण गर्दा डा. प्रभातले उनमा ‘पर्सिस्टन्ट डिल्युजन डिसअर्डर’ भएको पत्ता लगाए।

ती पुरुष व्यक्तिले वास्तविकतामा आधारित नभएको कुरालाई पनि शतप्रतिशत सत्य ठान्ने मानसिक समस्यामा पुगिससकेका थिए। कसैले आफूविरुद्ध ठूलै षड्यन्त्र गरिरहेको, शारीरिक रोग लागेको वा जीवनसाथी परपुरुष/परस्त्रीसँग प्रेममा परेको जस्ता गम्भीर भ्रमहरू यस्तो अवस्थामा देखिन्छन्।

यस्ता बिरामीमा सामान्यतया छटपटी हुने वा शारीरिक समस्या देखिने लक्षण हुँदैनन्, तर मनमा अनावश्यक शंकाको भ्रम भने जब्बर हुन्छ। भ्रमबाहेक ती व्यक्तिको दैनिक जीवन, बोलीचाली र व्यवहार सामान्यजस्तै देखिन सक्छ।

समस्याको जरो पत्ता लागेपछि डा. प्रभातले औषधि र परामर्श सुरु गरे। मानसिक रोगकै कारण श्रीमान्‌मा यस्तो भ्रम उत्पन्न भएको थाहा पाएपछि श्रीमतीले पनि सम्बन्धविच्छेदको निर्णय थाती राखेर उपचारमा साथ दिइन्।

औषधि सुरु गरेको केही दिनपछि नै सुधार देखिन थाल्यो र केही महिनाको नियमित उपचारपछि ती युवकको भ्रम पूर्ण रूपमा ठिक भयो। रोग निको भएसँगै शंकाको बादल हट्यो र उनीहरूको दाम्पत्य जीवन पुरानै लयमा फर्कियो।

‘मानसिक समस्याका कारण सम्बन्धविच्छेदको सँघारमा पुगेका धेरै दम्पतीलाई उपचारपछि पुनर्मिलन गराउन पाउँदा मनमा ठूलो आत्मसन्तुष्टि मिल्छ’, डा. प्रभात सम्झन्छन्।

थुनुवा कक्षमा काँपेका युवा र आईसीयूको त्यो रात
डा. प्रभातको स्मृतिमा ताजा रहेको अर्को घटना हो- लागुऔषधको कुलतमा फसेका एक युवाको जीवनरक्षा।

प्रसङ्ग केही वर्षअघिको हो। करिब २८ वर्षीय ती युवालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। ती युवा लामो समयदेखि ‘ब्राउन सुगर’ र मदिराको कडा कुलतमा थिए। तर, हिरासतमा पुगेपछि दुवै चिज एक्कासी सेवन गर्न पाउने कुरै भएन।

लागुपदार्थ र मदिरा एक्कासी छुट्दा त्यसको ‘विथड्रल रियाक्सन’ देखियो। उनलाई कडा झाडापखाला लाग्यो, जिउ काम्न थाल्यो, घरीघरी बेहोस हुन थाले र दुई दिनसम्म एक झप्को निदाउन पनि सकेनन्।

अवस्था शिथिल बनेपछि प्रहरीले उनलाई अस्पताल पुर्यायो। स्वास्थ्य जटिलताका कारण उनलाई तत्काल आईसीयूमा भर्ना गरियो।

परीक्षणका क्रममा ब्राउन सुगर नपाउँदा हुने ‘ओपियोइड युज डिसअर्डर’ र मदिरा नपाउँदा हुने ‘अल्कोहल युज डिसअर्डर’का कारण ती युवाको स्वास्थ्य यस्तो जटिल अवस्थामा पुगेको पत्ता लाग्यो।

त्यसपछि डा. प्रभात र फिजिसियन चिकित्सकको टोलीले उनको सघन उपचार सुरु गर्यो। ब्राउन सुगर र मदिराको लत छुटाउने तथा त्यसको तलतल कम गर्ने औषधिहरू दिइयो।

करिब १० दिनको औषधि उपचारपछि उनको स्वास्थ्य सामान्य बन्यो र उनलाई डिस्चार्ज गरियो। पछि फलोअपमा आउँदा ती युवा कुलत पूर्ण रूपमा त्यागेर सामान्य दैनिकीमा फर्किसकेका थिए।

यही अनुभवका आधारमा डा. प्रभात भन्छन्, ‘लागुऔषध र मदिराको अत्यधिक कुलत आफैँमा एउटा मानसिक समस्या हो। प्रहरी हिरासत वा कारागारमा रहेका यस्ता व्यक्तिलाई थुनेर मात्र हुँदैन, उनीहरूलाई ढिला नगरी तत्काल मनोपरामर्श र मनोचिकित्सकीय उपचार दिनुपर्छ। समयमै उपचार पाए उनीहरू सहजै सामान्य जीवनमा फर्किन सक्छन्।’

बागलुङदेखि चण्डीगढसम्म
बागलुङ नगरपालिका-२, बागलुङ बजारमा २०४६ सालमा जन्मिएका प्रभातले स्थानीय आदर्श विद्या मन्दिरबाट २०६२ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौँ आएर माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट आईएससी पूरा गरे।

अध्ययनमा अब्बल उनलाई सानैदेखि डाक्टर बनेर बिरामीको सेवा गर्ने ठूलो रहर थियो। त्यसैले उनले एमबीबीएस प्रवेश परीक्षाको तयारी गरे।

छनोट परीक्षा पार गरेर प्रभात २०६६ सालमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) मा आंशिक छात्रवृत्ति कोटामा एमबीबीएस भर्ना भए। २०७२ मा विनाशकारी भूकम्प जानुअघि नै उनले एमबीबीएस अध्ययन पूरा गरिसकेका थिए।

त्यसपछि उनले काठमाडौंको भरोसा अस्पतालमा केही महिना मेडिकल अधिकृतका रूपमा काम गरे। तर, उनलाई चिकित्साशास्त्रमा स्नातकोत्तर तह (एमडी) अध्ययन गरिहाल्ने तीव्र हुटहुटी थियो।

मनको डाक्टर बनेर धनगढीमा सेवा
करिब एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गर्दासम्म उनले मनोचिकित्सा (साइकियाट्री) विषयमै एमडी गर्ने अठोट गरिसकेका थिए। त्यसबीच उनले प्रवेश परीक्षा दिए। नभन्दै उनी भारतमा पूर्ण छात्रवृत्ति कोटामा एमडी अध्ययनका लागि छनोट भए।

डा. प्रभात २०७३ मा भारतको चण्डीगढस्थित प्रतिष्ठित ‘पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च’ (पीजीआईएमईआर) मा मनोचिकित्सा विषयमा एमडी अध्ययन गर्न भर्ना भए। २०७६ मा तीन वर्षे एमडी अध्ययन पूरा गरी उनी स्वदेश फर्किए।

नेपाल फर्किएपछि उनले सुदूरपश्चिमको धनगढीस्थित निसर्ग अस्पताललाई आफ्नो कर्मथलो बनाए। विगत सात वर्षदेखि उनी त्यहीँ कार्यरत छन्।

मानसिक समस्या भएका बिरामीको समस्या पहिल्याउनु, औषधि उपचार गर्नु र मनोपरामर्श दिनु डा. प्रभातको मुख्य दैनिकी हो। उथलपुथल भएको मनलाई उपचार गरी सन्तुलित अवस्थामा फर्काउन उनी निरन्तर तल्लीन छन्।

सात वर्षअघि धनगढी पुग्दा मानसिक स्वास्थ्य उपचारको पहुँच निकै कमजोर रहेको उनी सम्झन्छन्। तर अहिले जनचेतना बढेसँगै समाजले मानसिक समस्यालाई पनि शारीरिक रोगजस्तै एउटा रोगका रूपमा बुझ्न थालेको र अस्पताल आउने बिरामीको सङ्ख्या उल्लेख्य बढेको उनको अनुभव छ।

डा. प्रभात अस्पतालको सेवामा मात्र सीमित छैनन्। उनी गैरनाफामूलक संस्था नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ (एनआईओएमएस) मार्फत समुदायमै पुगेर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने र बिरामीको उपचार गर्ने अभियानमा सक्रिय छन्।

यसका साथै सडकमा बेवारिसे अवस्थामा भेटिएर मानव सेवा आश्रममा आश्रय लिइरहेका मानसिक समस्याग्रस्त नागरिकको निःस्वार्थ उपचार र मनोपरामर्शमा समेत उनी निरन्तर खटिरहेका छन्।

असोज १०, २०८३ शनिबार १३:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।