स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क बेच्ने ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेटभन्दा बढी सेवा शुल्क असुल गर्ने तथा अनुमति नलिई प्याकेज बेच्ने सरकारी स्वामित्वको नेपाल टेलिकमसहित ६ इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गरिएको छ।
दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रको सर्त विपरीत सेवा सञ्चालन गरेको ठहर गर्दै ६ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले पूर्वस्वीकृतिबिना सञ्चालनमा ल्याइएका इन्टरनेट सेवाका सम्पूर्ण प्याकेज तथा शुल्क तत्काल बन्द गर्न निर्देशन समेत दिएको छ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालकाअनुसार अनुमतिपत्रको सर्त विपरीत इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्ने काठमाडौंको भद्रकालीस्थित नेपाल दूरसञ्चार कम्पनी, मोरङको उर्लाबारीस्थित आई. जोन प्रालि, चितवनको भरतपुरस्थित चित्रवन युनिक नेट प्रालि, ललितपुरको स्काइ ब्रोडब्याण्ड प्रालि, काठमाडौंको तहाचालस्थित सजिलो नेट प्रालि र ललितपुरको थसिखेलस्थित कनेक्ट नेपाल नेटवर्क प्रालि कारबाहीमा परेका हुन्।
अनुमतिविपरीत विनास्वीकृति प्याकेज चलाउँदा कुनै सेवाग्राहीलाई हानि-नोक्सानी पुगेको भए उनीहरूको मागबमोजिम सोबापतको सेवा प्रदायकबाटै हानि-नोक्सानीको बिगो वा क्षतिपूर्तिसमेत भराइने प्राधिकरणले जनाएको छ। साथै स्वीकृत नगराई लागू गरिएका इन्टरनेट सेवाका सबै प्याकेज तथा शुल्क तत्काल बन्द गरी सोको जानकारी प्राधिकरणलाई गराउन निर्देशन दिइएको छ।
त्यस्तै प्राधिकरणले अनुमतिपत्रप्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई इन्टरनेट तथा दूरसञ्चार सेवाका प्याकेज र शुल्क अनिवार्य रूपमा स्वीकृत गराएर मात्र लागू गर्न निर्देशन दिएको छ। स्वीकृत भएका शुल्कहरू सार्वजनिक सूचनामार्फत अनिवार्य रूपमा प्रकाशित गर्ने व्यवस्था मिलाउनसमेत सचेत गराइएको छ।
असोज ३१, २०८३ शनिबार ०८:४६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।