दशैं मनाउन घर फर्किने हतारो, बसपार्कदेखि नाकासम्मै यात्रुको घुइँचो (तस्बिरहरू)

दशैं मनाउन घर फर्किने हतारो, बसपार्कदेखि नाकासम्मै यात्रुको घुइँचो (तस्बिरहरू)

काठमाडौं : बडादशैंअन्तर्गत नवरात्रको छैटौं दिन शुक्रबार पनि काठमाडौं उपत्यका छाडेर सर्वसाधारण आ-आफ्नो घर फर्किरहेका छन्। रोजगारी, अध्ययन तथा पेसा-व्यवसायको सिलसिलामा उपत्यकामा रहेकाहरू दशैं मनाउन घर फर्कन थालेसँगै मुख्य नाका तथा बसपार्कहरूमा भीड देखिन्छ।

वर्ष दिनको मुख्य चाड दशैं परिवारसँगै बसेर मनाउन टाढा-टाढाबाट घर फर्कने चलन नेपाली समाजको परम्परागत संस्कृतिसँग जोडिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार बिहानसम्म तीन लाख ४८ हजार ३१४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

उपत्यकाका भित्री सडकहरूमा सवारीसाधनको चाप केही घटे पनि गोंगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर र जडीबुटीलगायतका क्षेत्रमा भने बाहिरिने यात्रु र सवारीसाधनको चहलपहल धेरै देखिएको छ।

विशेष गरी लामो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कबाट छुट्ने भएकाले त्यहाँ यात्रुको बाक्लो उपस्थिति देखिन्छ। परिवारका सदस्यहरूसँग दशैं मनाउन सर्वसाधारण घर फर्किने यो क्रम अझै केही दिन चल्ने ट्राफिक प्रहरीले जनाएको छ।

चाडपर्वका बेला नाका तथा बसपार्कहरूमा हुन सक्ने यात्रुको भिडभाडलाई ध्यानमा राख्दै सुरक्षा निकाय र यातायात व्यवसायीहरूले यात्रुको सहजताका लागि आवश्यक प्रबन्ध मिलाएका छन्।

असोज ३०, २०८३ शुक्रबार १७:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।