बाढी प्रभावित हाकुबेसीका ६७ बालबालिकाका लागि ललितपुरको गोदावरीमा आवासीय विद्यालय

बाढी प्रभावित हाकुबेसीका ६७ बालबालिकाका लागि ललितपुरको गोदावरीमा आवासीय विद्यालय

ललितपुर : भोटेकोशी बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालन गरिने भएको छ। 

बाढीबाट विस्थापित बालबालिकाको शिक्षा, आवास, स्वास्थ्य र दैनिक संरक्षण सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच शुक्रबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मन्त्री सिता बादीको उपस्थितिमा सम्पन्न समझदारीअनुसार आगामी २०८३ सालको कात्तिकदेखि चैत मसान्तसम्म कक्षा १ देखि ८ सम्मका ६७ जना बालबालिकाका लागि अस्थायी विद्यालय सञ्चालन हुनेछ। 

गत भदौ १० गतेको बाढीका कारण हाकुबेसी आधारभूत विद्यालयको पठनपाठन बन्द भएपछि काठमाडौंको सुन्दरीजललगायतका स्थानमा आश्रय लिइरहेका बालबालिकाको शैक्षिक भविष्य प्रभावित हुन नदिन आवासीय व्यवस्थासहितको अस्थायी विद्यालयको व्यवस्था गरिएको हो। 

आमाछोदिङमो गाउँपालिकाको २१औँ विशेष गाउँसभाले असोज १८ गते गरेको निर्णयका आधारमा मन्त्रालयले असोज २० गते प्रस्ताव आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये पुनर्निर्माण अभियान नेपालको प्रस्ताव स्वीकृत गरी कार्यक्रम अघि बढाइएको हो।

समझदारीअनुसार कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा लाग्ने सम्पूर्ण आर्थिक स्रोत, भौतिक सामग्री र जनशक्तिको व्यवस्था पुनर्निर्माण अभियान नेपालले आफ्नै स्रोतबाट व्यहोर्नेछ। संस्थाले बालबालिकाका लागि सुरक्षित आवास, पोषण, सरसफाइ, स्वास्थ्य उपचार तथा दैनिक हेरचाह उपलब्ध गराउने जिम्मेवारी लिएको छ।

यसैगरी, मन्त्रालयले कार्यक्रमको समग्र समन्वय, सहजीकरण तथा राष्ट्रिय बाल अधिकार परिषद्मार्फत नियमित अनुगमन र निरीक्षण गर्नेछ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक व्यवस्थापनमा सहजीकरण गर्नेछ भने आमाछोदिङमो गाउँपालिकाले साविकका शिक्षक तथा कर्मचारीको तलब र अनुदानको व्यवस्था गर्नेछ। गोदावरी नगरपालिकाले आफ्नो पालिकाभित्र आवश्यक स्थानीय समन्वय गर्ने जनाइएको छ।

सम्झौतामा बालबालिकाको सर्वोत्तम हित, मर्यादा र गोपनीयतालाई प्राथमिकता दिँदै उनीहरूलाई हिंसा, दुर्व्यवहार र विभेदबाट जोगाउने उल्लेख छ। संस्थाले कार्यक्रमको प्रगति र आयव्ययको विवरण नियमित रूपमा मन्त्रालयमा पेस गर्नुपर्नेछ भने तोकिएको अवधि (चैत मसान्त) पछि पनि बालबालिकाको शिक्षा तथा संरक्षणमा अवरोध नआउने गरी पूर्व व्यवस्था मिलाउनुपर्ने समझदारीपत्रमा उल्लेख छ।

समझदारीपत्रमा मन्त्रालयका निमित्त सचिव विपिन आचार्य र पुनर्निर्माण अभियान नेपालका उपाध्यक्ष युवराज शर्मा शिवाकोटीले हस्ताक्षर गरे। समझदारीको रोहबरमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शङ्कर अधिकारी, आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुचुङ तामाङ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र हाकुबेसी आधारभूत विद्यालयका प्रधानाध्यापक कार्बो तामाङ रहेका छन्।

कात्तिक १, २०८३ शनिबार ०७:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।