इन्टरएक्टिभ स्टोरी : शून्य लागतको लोभ देखाएर अवैध रूपमा असुलिएको नेपाली श्रमिकको १ अर्ब ६९ करोडको रहस्यमय यात्रा

इन्टरएक्टिभ स्टोरी : शून्य लागतको लोभ देखाएर अवैध रूपमा असुलिएको नेपाली श्रमिकको १ अर्ब ६९ करोडको रहस्यमय यात्रा
 
७,५०,९८८
अतिरिक्त बायोमेडिकल शुल्क तिर्न बाध्य पारिएका नेपाली श्रमिक
रु. २.३७ अर्ब
सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म श्रमिकबाट उठाइएको कुल रकम
रु. १.६९ अर्ब
१७ पटक टीटी मार्फत मलेसियाको बेस्टिनेटमा पठाइएको विदेशी मुद्रा
११ जना
पूर्वमन्त्री, पूर्वमुख्यसचिव र व्यवसायीसहित हाल हिरासतमा रहेका व्यक्ति
सम्पादकीय नोट : प्रस्तुत रिपोर्ट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जारी अनुसन्धानमा खुलेका तथ्य र श्रम मन्त्रालयको छानबिन प्रतिवेदनका विवरणमा आधारित छन्। स्पष्टताका लागि यहाँ ‘पुष्टि भइसकेको (अभिलेखमा देखिएको)’ र ‘पुष्टि हुन बाँकी (कानुनी निरूपणको क्रममा रहेको)’ तथ्यहरूलाई अलग-अलग राखिएको छ। 

२०७५ कात्तिक १२ (२९ अक्टोबर २०१८) मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा नेपाल र मलेसिया सरकारबीच श्रमिक भर्ना, रोजगारी र फिर्तीसम्बन्धी ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भयो। समझदारीको ‘एपेन्डिक्स बी’ को बुँदा ७ (जी) र संयुक्त कार्यदलले पारित गरेको ‘एनेक्स फाइभ’ ले श्रमिकको भिसा, टिकट, स्वास्थ्य परीक्षण (२६० रिङ्गिट) र बायोमेडिकल सिस्टम (१०० रिङ्गिट) को सम्पूर्ण खर्च मलेसियाली रोजगारदाता कम्पनीले बेहोर्ने स्पष्ट व्यवस्था गरेको थियो।

सम्झौताअनुसार श्रमिकले नेपालमा स्वास्थ्य परीक्षण शुल्क तिरेको भए मलेसिया पुगेपछि पहिलो महिनाको तलबसँगै सोधभर्ना पाउनुपर्ने थियो। तर, व्यवहारमा अवस्था उल्टो बाटोमा गयो। उताबाट श्रमिकको खातामा आउनुपर्ने पैसा उल्टै यताबाट उठाएर मलेसिया पठाउने खेल शुरु भयो। 

के पुष्टि भयो, के बाँकी छ ?

तलका बटन थिचेर अनुसन्धान अभिलेखले पुष्टि गरेका तथ्य र पुष्टि हुन बाँकी पक्ष अलग-अलग हेर्नुहोस् :

✓ पुष्टि भएको 

१ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ विदेश गयो

सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म मलेसिया जाने ७ लाख ५० हजार ९८८ श्रमिकबाट करिब २ अर्ब ३७ करोड ६० लाख असुलिएको र त्यसमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ १७ पटक टीटीमार्फत मलेसियाको बेस्टिनेटमा पठाइएको राष्ट्र बैंक र सीआईबीको अभिलेखबाट पुष्टि भएको छ।

⏳ पुष्टि हुन बाँकी

बाँकी ६८ करोड रुपैयाँको परिचालन 

श्रमिकबाट उठाइएको भनिएको कुल २ अर्ब ३७ करोडमध्ये विदेश पठाइएको १ अर्ब ६९ करोडबाहेकको बाँकी करिब ६८ करोड रुपैयाँ कहाँ, कसरी र कुन-कुन व्यक्ति वा समूहको खातामा गयो भन्ने पूर्ण विवरण एकिन हुन बाँकी छ।

✓ पुष्टि भएको 

सिन्डिकेटमार्फत १०० रिङ्गिट अतिरिक्त असुली

सम्झौताको ‘एनेक्स फाइभ’ ले बायोमेडिकल खर्च रोजगारदाताको महलमा राखे पनि नेपालमा ३६ संस्थामार्फत श्रमिकबाटै प्रतिकामदार १०० रिङ्गिट (रु. ३,१६४) असुलिएको प्रमाण भेटिएको छ ।

⏳ पुष्टि हुन बाँकी

कमिसन, घर-गाडी उपहार र सम्पत्ति शुद्धीकरण

व्यवसायी कैलाश खड्का र सरकारी अधिकारीबीच भएको भनिएको नगद लेनदेन, घर-गाडी उपहार र विदेश भ्रमणको विवरण समेत खुलेका छन्। तर यो सिआइबीको अनुसन्धानकै चरणमा रहेको छ। 

✓ पुष्टि भएको (अभिलेखीय तथ्य)

११ जना हिरासतमा र हराएको फाइल 

पूर्वमन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवर, पूर्व मुख्यसचिव एकनारायण अर्याल र व्यवसायी कैलाश खड्कासहित ११ जना अहिले सिआइबीको हिरासतमा छन्। यो घटनाबारे अध्ययन गरिएको फाइल श्रम मन्त्रालयबाट हराएकोमा अहिले सो फाइल फेला परेको दाबी आएको छ।  

⏳ पुष्टी हुन बाँकी

कसुर ठहर र व्यक्तिगत आपराधिक दायित्व

हिरासतमा रहेका तथा नाम जोडिएका व्यक्तिहरूमाथि लगाइएको ठगी, सङ्गठित अपराध र विदेशी मुद्रा अपचलनको आरोप अहिले अनुसन्धानको प्रारम्भिक चरणमै छ। 

✓ पुष्टि भएको 

दूतावासको पत्र र राष्ट्र बैंकको स्वीकृति

काठमाडौँस्थित मलेसियाली दूतावासको पत्र र श्रम मन्त्रालयको सिफारिसका आधारमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको स्वीकृति दिएको कागजात अनुसन्धानमा सिआइबीले भेटेको छ ।

⏳ पुष्टि हुन बाँकी

कूटनीतिक पत्रको आधिकारिकता र नियत

मलेसियाली दूतावासका पत्रहरूको आधिकारिकता, कूटनीतिक मर्यादाको उल्लंघन र राष्ट्र बैंकका कर्मचारीको बदनियत वा प्रशासनिक लापरबाहीबारे छानबिन जारी नै छ। 

१

माइक्रोटेकको जन्म र मलेसियाली राजदूतको अनौठो पत्र

नेपाल र मलेसिया सरकारबीच श्रमिक भर्ना, रोजगारी र फिर्तीसम्बन्धी ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भएको चार महिनामै (२०७५ फागुन ६) व्यवसायी कैलाश खड्का, मुकुन्द भट्टराई र शालिग्राम क्षेत्री मिलेर ‘माइक्रोटेक प्रालि’ स्थापना गरे।

त्यसपछि काठमाडौँस्थित मलेसियाली दूतावासका कार्यवाहक राजदूत अहमद फदिल इस्माइलले नेपाल सरकारलाई नभई सिधै निजी कम्पनी माइक्रोटेकका सञ्चालकलाई पत्र लेख्दै ‘तत्काल लागू हुने गरी’ प्रतिकामदार बायोमेडिकल शुल्क ३,१६४ रुपैयाँ (१०० रिङ्गिट र १३% भ्याट) तोकेर ३७ (पछि ३६) स्वास्थ्य संस्थामा लागू गराउन अनुमति दिए।

फलस्वरुप, रोजगारदाताले तिर्नुपर्ने ६,५०० रुपैयाँ र सम्झौतामा श्रमिकले तिर्ने उल्लेख नभएको ३,१६४ रुपैयाँ गरी झन्डै ९,५०० रूपैँया नेपाली श्रमिककै गोजीबाट असुलियो। उठेको रकमको ९० प्रतिशत मलेसियाको बेस्टिनेटलाई र १० प्रतिशत माइक्रोटेकले राख्ने सहमति भएको अहिले सिआइबीको अनुसन्धानमा खुलेको अनुसन्धानमा संलग्न अधिकारीले जानकारी दिए।

 २

मन्त्रालयको ‘हराएको’ फाइल र एकनारायण अर्यालको भूमिका

सीआइबीले २०८२ असोज २९ मा कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो। त्यसपछि सिआइबीले श्रम मन्त्रालयसँग रकम पठाउने ‘मन्त्रिस्तरीय निर्णय’ को फाइल माग्यो। सुरुमा मन्त्रालयले ‘फाइल नै नभेटिएको’ जवाफ दियो। तर पछि उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा बनेको कार्यदलले मन्त्रालयका शाखाहरू खोजतलास गरी सक्कल फाइल फेला परेको भन्दै सीआइबी पठायो। त्यही फाइलले निर्णय प्रक्रियाको भित्री तह खुलायो।

भेटिएको फाइलअनुसार २०७९ भदौ १६ मा कानुन अधिकृत अमृता देवकोटाले विदेशी मुद्रा अपचलन, कर र सम्पत्ति शुद्धीकरणको प्रश्न उठेमा म्याक्रोटेक स्वयं जिम्मेवार हुने सर्त राखेर टिप्पणी उठाएको देखियो। भदौ १९ मा सहसचिव राजीव पोखरेलले फाइल पेस गरे र सोही दिन तत्कालीन श्रमसचिव एकनारायण अर्यालले निर्णय सदर गरेको देखियो।

अचम्मको कुरा, कानुन उपसचिव निर्मला गुरुङले सचिवले निर्णय गरिसकेको चार दिनपछि (भदौ २३ मा) मात्र रायमा हस्ताक्षर गरेको देखियो। तत्कालीन मन्त्री शेरबहादुर कुँवर पक्राउ परिसकेका छन्। तर अहिलेसम्मको अनुसन्धानमा स्विकृतीको फाइल कुँवरसम्म  पुगेको प्रमाण फेला परेको छैन। तर श्रम मन्त्रालयले राष्ट्र बैँकलाई मलेसियामा पैसा लैजान दिने अनुमतिका लागि पठाएको पत्रमा ‘मन्त्रिस्तरीय निर्णय’ भनेर लेखिएको पाइएको छ।

यसले तत्कालीन श्रम सचिव अर्यालले नै निर्णय गरेर बैंकमा पत्र पठाउँदा भने मन्त्रिस्तरीय लेखेको अनुसन्धान अधिकारीहरूको शंका छ। तर यसबारे सीआइबी अहिले नै निष्कर्षमा पुगेको देखिएन।

कुन मन्त्रीको कार्यकालमा कति रकम मलेसिया बाहिरियो ?

सन् २०२० फेब्रुअरी २७ देखि २०२४ मे २२ सम्म १७ पटकमा पठाइएको १ अर्ब ६९ करोड रुपैयाँको कार्यकाल अनुसारको विवरण :

१. शेरबहादुर कुँवर (५ पटक ट्रान्सफर) करिब रु. ६० करोड ५ लाख
 
पुस ११ (पद समाप्त हुने दिन) एकैपटक रु. २८ करोड पठाइएको । निर्णय सचिव अर्यालले गरेको फाइल भेटिएको ।
२. शरतसिंह भण्डारी (५ पटक ट्रान्सफर) करिब रु. ४३ करोड ७६ लाख
 
नयाँ मन्त्रिस्तरीय निर्णय नगरी अघिल्लै निर्णयलाई टेकेर पत्राचार भएको अभिलेख ।
३. प्रधानमन्त्री प्रचण्डले मन्त्रालय सम्हालेको अवधि (१ पटक) करिब रु. २२ करोड ५६ लाख
 
२०७९ फागुन १५ मा ११ औँ रकमान्तर स्वरूप पठाइएको ।
४. डोलप्रसाद (डीपी) अर्याल (दुई कार्यकाल गरी ३ पटक) करिब रु. २० करोड ९४ लाख
 
पहिलो कार्यकालमा रु. ११.७० करोड र दोस्रो कार्यकालमा रु. ९.२४ करोड पठाइएको । नयाँ निर्णय नभएको अभिलेख ।
५. रामेश्वर राय यादव (४ पटक ट्रान्सफर) करिब रु. २० करोड
 
आफैँ मन्त्रिस्तरीय निर्णय गरी रकम पठाउन बाटो खोलेको अभिलेख । हाल हिरासतमा ।
३ 

डोलप्रसाद (डीपी) र शरतसिंह भण्डारीको कार्यकालको अभिलेख के भन्छ ?

यो प्रकरणमा तत्कालीन श्रममन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परिसकेका छन् भने सत्ताधारी दल रास्वपाका पूर्व उपसभापति तथा वर्तमान सभामुख डोलप्रसाद (डीपी) र वर्तमान उर्जामन्त्री विराजभक्त श्रेष्ठका ससुरा शरतसिंह भण्डारीको कार्यकालमा समेत रकम मलेसिया पठाइएको तथ्य अनुसन्धान अभिलेखमा देखिएको छ। तर उनीहरू पक्राउ परेका छैनन्। कसैलाई तत्काल पक्राउ गरिहाल्ने तर सत्तासँग निकटलाई भने छुट दिँदा सरकार चयनमुखी अनुसन्धानमा लागेको भन्दै आलोचना भइरहेको छ।

डोलप्रसाद (डीपी) अर्याल

तत्कालीन श्रममन्त्री (हाल प्रतिनिधि सभाका सभामुख)
✓ पुष्टि भएको 

कुल ३ पटक रकमान्तर : २०७९ माघ ३ मा श्रममन्त्री नियुक्त भएको दुई दिनपछि (माघ ५ मा) १० औँ पटकको रकमान्तर स्वरूप ९ लाख २५ हजार ७७५ डलर (करिब ११ करोड ७० लाख रुपैयाँ) मलेसिया पठाइएको अभिलेख छ । यस्तै, २०८० फागुन २३ मा पुनः श्रममन्त्री बनेपछि २०८१ वैशाख २४ र जेठ ९ गरी दुई पटकमा करिब ९ करोड २४ लाख रुपैयाँ बाहिरिएको सीआईबीको अभिलेखले देखाउँछ ।

⏳ पुष्टि हुन बाँकी 

प्रत्यक्ष निर्णय वा जानकारी : अभिलेखअनुसार अर्यालको कार्यकालमा रकम पठाउन कुनै नयाँ मन्त्रिस्तरीय निर्णय भएको देखिँदैन । अघिल्लै कार्यकालको निर्णयलाई टेकेर मन्त्रालयबाट पत्राचार भएको देखिएको छ । ती पत्रहरू तत्कालीन मन्त्री अर्यालको जानकारी र निर्देशनमा गएका थिए वा कर्मचारी तहबाटै पुरानो निर्णयका आधारमा अघि बढाइएका थिए भन्ने विषय पुष्टि हुन बाँकी छ ।

शरतसिंह भण्डारी

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
✓ पुष्टि भएको 

कुल ५ पटक रकमान्तर : २०७९ चैत १७ देखि २०८० फागुन २३ सम्म श्रममन्त्री रहेका भण्डारीको कार्यकालमा १२औँ देखि १६ औँ पटकसम्म लगातार पाँच पटकमा करिब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको अमेरिकी डलर मलेसिया पठाइएको अभिलेख छ ।

⏳ पुष्टि हुन बाँकी 

नीतिगत संलग्नता वा प्रशासनिक निरन्तरता : भण्डारीको पालामा पनि अलग्गै नयाँ मन्त्रिस्तरीय निर्णय नगरी अघिल्ला मन्त्री/सचिवकै निर्णयलाई आधार मानेर रकम पठाइएको सीआईबीको प्रारम्भिक विवरणमा उल्लेख छ । यति ठूलो रकम पाँच पटक बाहिरिँदा मन्त्री भण्डारीको मौन स्वीकृति, संलग्नता वा अनभिज्ञता के थियो भन्ने विषय थप अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

घटनाक्रम

१२ वर्षको घटनाक्रम : क्लिक गरेर विवरण हेर्नुहोस्

नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष कैलाश खड्का र मलेसियाको बेस्टिनेटबीच बायोमेडिकल प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भयो ।
तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा श्रमिकको स्वास्थ्य परीक्षण र बायोमेडिकल खर्च रोजगारदाताले बेहोर्ने गरी ‘शून्य लागत’ सम्झौतामा हस्ताक्षर भयो ।
मलेसियाली दूतावासका कार्यवाहक राजदूतले निजी कम्पनी माइक्रोटेकलाई पत्र लेखी प्रतिकामदार रु. ३,१६४ बायोमेडिकल शुल्क उठाउन अनुमति दिए ।
तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवको मन्त्रिस्तरीय निर्णयपछि टीटीमार्फत मलेसियाको बेस्टिनेट खातामा पहिलो रकमान्तर भयो ।
मन्त्रीसमक्ष फाइल नपुर्याई तत्कालीन श्रमसचिव एकनारायण अर्यालले निर्णय सदर गरे, जसका आधारमा पटक-पटक रकम बाहिरियो ।
२,२३९ श्रमिकबापत करिब ४९ लाख रुपैयाँ मलेसिया पठाइएसँगै १७ पटकमा कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बाहिरियो ।
सीआईबीले व्यवसायी कैलाश खड्का, पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
यो इन्टरएक्टिभ स्टोरी जेमिनाइको सहयोगमा बनाइएको हो।

मंसिर १३, २०८३ आइतबार २०:२८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।