राहुल गान्धीको चेतावनी : 'मोदी, शाह, ज्ञानेश कुमार र विद्यार्थीमाथि हात उठाउने प्रहरी, सबैले सजाय पाउनेछन्'
एजेन्सी : भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार, गृहमन्त्री अमित शाहदेखि प्रदर्शनकारी विद्यार्थीमाथि दमन गर्ने प्रहरी जवानसम्मलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
बुधबार कांग्रेसको विद्यार्थी संगठन नेशनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (एनएसयूआई) सँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले दिल्लीमा भइरहेको विद्यार्थीहरूको विरोधलाई भारतको आवाजको रुपमा उल्लेख गरे।
"यो भारत हो। अमित शाह जी, यसलाई ध्यानपूर्वक हेर्नुहोस्। यहाँ कोही हिन्दू छैन, कोही मुस्लिम छैन, कुनै खास जातको कोही व्यक्ति छैन", उनले अगाडि थपे, "यहाँ न कोही महिला छ, न कोही पुरुष। यहाँ केवल एक आवाज छ, एक विरोध छ। यो भारतको आवाज हो र तपाईंहरू यस आवाजको विरुद्धमा उभिनुभएको छ। प्रधानमन्त्री पनि यो आवाजको विरुद्धमा उभिनुभएको छ।"
राहुलले सरकारलाई उक्त आवाजको विरुद्धमा नउभिन चेतावनी दिँदै विरोधको आवाजलाई कसैले पनि दबाउन नसक्ने बताए।
उनले अगाडि भने, "म तपाईंलाई सल्लाह दिन्छु कि यो आवाजको विरुद्धमा नउभिनुहोस्। कोही पनि यो आवाजको सामना गर्न सक्दैन।"
उनले प्रशासनलाई सम्बोधन गर्दै आफूले सबै विद्यार्थीलाई हरेक घटनाको भिडियो रेकर्ड गरेर प्रमाणका रूपमा सुरक्षित राख्न र ती प्रमाण आफूहरूलाई पठाउन आग्रह गरेको बताए। उनले त्यहि प्रमाणका आधारमा प्रधानमन्त्री मोदी, ज्ञानेश कुमार, अमित शाह वा विद्यार्थीमाथि दमन गर्ने प्रहरी जवान जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताए।
उनले भने, "म पुलिसकर्मीहरूलाई भन्न चाहन्छु कि मैले सबै विद्यार्थीहरूलाई प्रत्येक घटनाको भिडियो रेकर्ड गर्न र ती प्रमाणहरू हामीलाई पठाउन भनेको छु। जब यो पूरै प्रकरण समाप्त हुनेछ, हामी ती सबै प्रमाणहरूको प्रयोग गर्नेछौं र यो सुनिश्चित गर्नेछौं कि जसले सजाय पाउनुपर्छ, उनीहरूले सजाय पाऊन्। चाहे त्यो प्रधानमन्त्री नरेन्द्र मोदी हुन्, ज्ञानेश कुमार हुन्, अमित शाह हुन् वा ती कन्स्टेबल हुन् जसले हाम्रा नानीहरूमाथि हात उठाइरहेका छन्।"
पत्रकार सम्मेलनका क्रममा एनएसयूआईका कार्यकर्ताहरूले दिल्ली पुलिसमाथि प्रदर्शनका बेला विभिन्न किसिमका दुर्व्यवहार र दमन गरेको आरोप लगाएका थिए।
असोज २८, २०८३ बुधबार १८:०२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।