फेसबुकमा गरिएको टिप्पणीका कारण साउदी अरबमा श्रीलङ्काली नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द

फेसबुकमा गरिएको टिप्पणीका कारण  साउदी अरबमा श्रीलङ्काली नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द

एजेन्सी : साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा गरिएको टिप्पणीका कारण मृत्युदण्डको सजाय सुनाइएका श्रीलंकाली प्रवासी श्रमिक अनोजन सिवारासाको सजाय रद्द गरेको छ।

श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमचन्द्रले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वोच्च अदालतले २४ वर्षीय अनोजन सिवारासालाई सुनाइएको मृत्युदण्डको सजाय रद्द गरेको जानकारी दिएका हुन्। उनले यसका लागि सहयोग गर्ने दुवै देशका अधिकारी तथा कानुन व्यवसायीलाई धन्यवाद दिएका छन्।

सिवारासालाई गत सेप्टेम्बरमा साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मदविरुद्ध आपत्तिजनक टिप्पणी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो। उनले फेसबुकमा तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको थियो।

 यद्यपि, विवाद बढेपछि उनले उक्त टिप्पणी हटाएर माफी माग्दै भिडियो समेत सार्वजनिक गरेका थिए। तर, उनले गरेको टिप्पणीको स्क्रिनसट उनी कार्यरत कम्पनी र साउदी अधिकारीसम्म पुगेपछि गत जुलाई महिनामा उनलाई पक्राउ गरिएको थियो।   

यस घटनाले श्रीलङ्कामा ठूलो चिन्ता र बहस सिर्जना गरेको थियो। श्रीलङ्का सरकारले सिवारासाको जीवन रक्षाका लागि पहल गर्दै साउदी सरकारसँग तीव्र कूटनीतिक संवाद अघि बढाएको थियो।

सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै सिवारासालाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको छ।

असोज २८, २०८३ बुधबार १७:२२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।