दसैँ मनाउन घर फर्किनेको घुइँचो : एक लाख ३० हजार बढी यात्रुले लिए अग्रिम टिकट

दसैँ मनाउन घर फर्किनेको घुइँचो : एक लाख ३० हजार बढी यात्रुले लिए अग्रिम टिकट

काठमाडौं : दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू परिवार र आफन्तसँग दसैँ मनाउन धमाधम आफ्नो घर फर्किन थालेका छन्। काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिइसकेका छन्। मङ्गलबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा मात्रै ७८ हजार १३८ यात्रु बाहिरिएका छन्। यसअघि असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए।

काठमाडौंबाट दसैँ मनाउनका लागि  फर्पिङ, नागढुङ्गा, थानकोट,  भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन्।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।

“दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उनले भने।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो।

हालसम्म एक लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार  असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। 

यातायात महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।

असोज २८, २०८३ बुधबार १३:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।