नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौं : नवरात्रको चौथो दिन आज दशैं घर तथा पूजा कोठाहरूमा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डाको आराधना गर्ने शास्त्रीय विधि छ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप (कष्ट) लाई उदर (पेट) मा समाहित गरी संसार उत्पन्न गर्ने देवी भएकाले यिनलाई कुष्माण्डा भनिएको मार्कण्डेय पुराण तथा दुर्गा सप्तशती (चण्डी) मा उल्लेख छ।

देवी कुष्माण्डाले आफ्ना शरणमा आएका भक्तजनको त्रिविध ताप हरण गरी सुख, ऐश्वर्य र आरोग्य प्रदान गर्ने धार्मिक विश्वास छ। यी देवीले हातमा अमृतपूर्ण कलश र कमण्डलु धारण गरेको वर्णन पाइन्छ।

गत आइतबार घटस्थापनासँगै सुरु भएको नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिएको थियो।

क्रमशः पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।

नवरात्रभर देवीका मन्दिर तथा दसैँ घरमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवतलगायत स्तोत्र पाठ गर्ने गरिन्छ। प्रतिपदादेखि नवमीसम्म पूजा गरिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा छ।

यसैबीच, नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती र कालिकास्थान तथा उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही र छिन्नमस्तालगायत मन्दिरहरूमा दर्शनार्थीको ठूलो भीड छ।

असोज २८, २०८३ बुधबार ०७:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।