नक्सा विवादमा चीनलाई भारतको जवाफ - 'लद्दाख हाम्रो अभिन्न हिस्सा हो, चीनले अस्वीकार गर्दैमा तथ्य बदलिँदैन'
काठमाडौं : लद्दाखलाई आफ्नो भूभाग मान्न चीनले गरेको अस्वीकारप्रति आपत्ति जनाउँदै भारतले बेइजिङको दाबीले स्थापित तथ्य परिवर्तन हुन नसक्ने बताएको छ।
भारतीय विदेश मन्त्रालयले लद्दाख भारतको 'अभिन्न र अविभाज्य हिस्सा' रहेको उल्लेख गर्दै चीनले अस्विकार गर्दैमा स्थापित तथ्यलाई बदल्न नसक्ने दाबी गरेको हो।
मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ केन्द्रशासित प्रदेश लद्दाख भारतको अभिन्न र अविभाज्य हिस्सा हो । चिनियाँ पक्षले जतिसुकै अस्वीकार गरे पनि यो स्थापित तथ्यलाई बदल्न सक्दैन।”
अक्टोबर २ मा भारतको गृह मन्त्रालयले लद्दाख प्रशासन र स्थानीय सरोकारवालाहरूसँगको परामर्शमा 'सर्भे अफ इन्डिया' को आधिकारिक नक्सामा वास्तविक नियन्त्रण रेखा (एलएसी) छेउका गोग्रा र हट स्प्रिङ जस्ता रणनीतिक तथा सीमा क्षेत्रका २८ स्थानको नाम मानकीकृत गरी समावेश गरेको थियो। मन्त्रालयले नक्सामा यी स्थानहरू औपचारिक रूपमा उल्लेख गर्नुको मुख्य उद्देश्य सटीक पहिचान गराउनु र आम सर्वसाधारणमा सीमा क्षेत्रबारे सही जनचेतना अभिवृद्धि गराउने रहेको जनाएको छ।
भारतको उक्त कदमपछि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भारतीय निर्णयलाई 'गैरकानुनी र अमान्य' भन्दै बेइजिङले लद्दाख केन्द्रशासित प्रदेशलाई मान्यता नदिने टिप्पणी गरेकी थिइन्।
"भारतले एकतर्फी र गैरकानुनी रूपमा स्थापना गरेको तथाकथित 'केन्द्रशासित प्रदेश लद्दाख' लाई चीनले कहिल्यै मान्यता दिएको छैन र भारतको नाम मानकीकरण गर्ने कदमको कडा विरोध गर्दछ। यो कदम गैरकानुनी र अमान्य छ, र यसले चीन-भारत सीमाको पश्चिमी क्षेत्र सधैँ चीनको थियो भन्ने तथ्यलाई बदल्न सक्दैन," माओ निङले भनेकी थिइन्।
चिनियाँ प्रवक्ताको सोही टिप्पणीपछि दुई छिमेकी मुलुकबिच सीमा विवाद पुनः सतहमा आएको छ।
सन् २०२० मा पूर्वी लद्दाखको गल्वान उपत्यकामा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप भएको थियो, जुन सन् १९७५ पछिको पहिलो घातक सैन्य भिडन्त थियो। उक्त झडपमा कम्तीमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिकको मृत्यु भएको थियो।
उक्त घटनापछि सुरु भएको सैन्य तनाव चार वर्षभन्दा बढी समयपछि साम्य भएको थियो। तीन हजार ५०० किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका रणनीतिक क्षेत्रहरूमा भारत र चीनले एक-अर्कामाथि भूभाग कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन्।
असोज २७, २०८३ मंगलबार १९:११:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।