जन्तरमन्तरमा प्रदर्शन गर्न गेट नाघेर पुगेपछि सीजेपीका नेता प्रहरी नियन्त्रणमा

जन्तरमन्तरमा प्रदर्शन गर्न गेट नाघेर पुगेपछि सीजेपीका नेता प्रहरी नियन्त्रणमा

एजेन्सी : भारतको राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरलाई निर्धारित प्रदर्शनस्थलको सूचीबाट हटाइएको एक दिनपछि कक्रोच जनता पार्टी (सीजेपी) का नेता तथा कार्यकर्ता मंगलबार बिहान गेट नाघेर जन्तरमन्तर प्रवेश गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्न पुगेका उनीहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। 

सीजेपीका नेता सौरभ दासको नेतृत्वमा कार्यकर्ताहरू जन्तरमन्तर पुगेका थिए। पार्टीका संस्थापक दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा सिजेपीका नेता तथा कार्यकर्ताहरू फलामे गेट र प्रहरीको अवरोध नाघेर प्रदर्शनस्थल प्रवेश गरेको देखिन्छ। त्यसक्रममा 'भारत माता की जय' र 'इन्कलाब जिन्दाबाद' जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएपछि सौरभ दासले सामाजिक सञ्जाल एक्समार्फत आफूहरूलाई जाफरपुर प्रहरी चौकी लगिएको बताएका छन्।

प्रहरीले सीजेपीका नेताहरूलाई नियन्त्रणमा लिएपछि संस्थापक अभिजित दिप्केले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै सरकारको निर्णयको प्रतिवाद गरेका छन्। जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिँदै दिप्केले ‘प्रतिरोधलाई निषेध गर्न सकिँदैन’ भनेका छन्। 

उनले एक्समा लेखेका छन्, "उनीहरूले जन्तरमन्तरलाई निर्धारित प्रदर्शनस्थलको सूचीबाट हटाएका छन्। हो, अब यो प्रदर्शनस्थल रहेन। कायर तानाशाहले यसलाई युद्धभूमिमा परिणत गरिसकेको थियो। अब पूरै देश जन्तरमन्तर बन्नेछ।"

विपक्षी गठबन्धन इन्डिया र सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग सम्बन्धित 'विशेष गहन पुनरावलोकन' (एसआईआर) विवादलाई लिएर मध्यदिल्लीमा आन्दोलन चर्काएका बेला केन्द्र सरकारले सोमबार जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाएको थियो। नयाँदिल्लीको उच्च सुरक्षा व्यवस्था रहेको मध्य क्षेत्रमा पर्ने जन्तरमन्तर यसअघि विरोध प्रदर्शन र धर्नाका लागि तोकिएको स्थलका रूपमा प्रयोग हुँदै आएको थियो।

केन्द्रीय गृह मन्त्रालयअन्तर्गतको समितिको सिफारिसका आधारमा राजधानीमा प्रदर्शन तथा धर्नाका लागि तीन नयाँ स्थल निर्धारण गरिएको छ। ती स्थलमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदान रहेका छन्।

दिल्ली प्रहरीले अक्टोबर १० देखि नै जन्तरमन्तर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै प्रदर्शनकारीलाई प्रवेश गर्न दिएको थिएन। सीजेपीले अक्टोबर १० मा त्यहीँ प्रदर्शन गर्ने घोषणा गरेको थियो।

त्यस दिन बिहान दिल्ली आइपुगेका सीजेपीका प्रमुख नेता दिप्के, दास र रंकालाई विमानभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। शनिबार र आइतबार राजधानीका विभिन्न क्षेत्रमा भएका प्रदर्शन र प्रहरी कारबाहीका क्रममा हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो।

असोज २७, २०८३ मंगलबार १४:३१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।