सवारी दर्ता र नामसारीमा धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

सवारी दर्ता र नामसारीमा धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

काठमाडौं : नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ।

संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ।

पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।

संशोधित व्यवस्थाले डिलरबाट गरिएको सवारी साधनको जाँचलाई पनि मान्यता दिएको छ। अब डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।

त्यस्तै, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था पनि हटाइएको छ। यसले सवारी धनीको समय र झन्झट घटाउने अपेक्षा गरिएको छ।

नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि संशोधनमा समेटिएको छ। मन्त्रालयले यी परिवर्तनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ।

असोज २७, २०८३ मंगलबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।