नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
काठमाडौं : नवरात्रको तेस्रो दिन आज दशैंघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो रूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ।
हातमा चन्द्रमाको आकार भएको घण्ट लिएकी हुनाले यी देवीको नाम ‘चन्द्रघण्टा’ रहन गएको पौराणिक मान्यता छ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा छ, उहाँ नै चन्द्रघण्टा हुन् भनी व्याख्या गरिएको छ। देवीले शिरमा अर्धचन्द्र र घण्ट धारण गर्नुभएको हुन्छ।
पहेँलो वर्णकी चन्द्रघण्टा देवीले दानवी प्रवृत्तिको नाश गर्ने विश्वास गरिन्छ। शान्त र करुणामयी स्वरूपकी यी देवीको उपासना गर्दा मणिपुर चक्रमा ध्यान गरिन्छ।
देवी चन्द्रघण्टाको कृपाले समस्त पाप नाश हुने र अलौकिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। गीत-सङ्गीत क्षेत्रका साधकहरूले चन्द्रघण्टा देवीको विशेष आराधना गर्छन्।
आजको दिन ध्यान गर्नाले साधकको मुहारमा चमक र तेज बढ्ने विश्वास गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नवरात्रको पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो भने आज निष्ठापूर्वक चन्द्रघण्टा देवीको उपासना भइरहेको छ।
दुर्गापक्ष समेत भनिने नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा-आराधना गरिन्छ।
यी दिनहरूमा घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गरिन्छ।
यसरी नौ दिनसम्म शक्ति, ऐश्वर्य र विद्या प्राप्तिका लागि आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका-प्रसाद ग्रहण गरिन्छ।
नवरात्रको अवसरमा काठमाडौं उपत्यकाका साथै देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ।
असोज २७, २०८३ मंगलबार ०७:१८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।