भारतमा विरोध प्रदर्शनका लागि तोकिए तीन नयाँ स्थल, जन्तर मन्तरमा नपाइने
एजेन्सी : भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीन वटा वैकल्पिक स्थान तोकेको छ।
प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ।
मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा कथित अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो।
भारतको संसद् भवन तथा प्रमुख सङ्घीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो। रणनीतिक स्थानमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो।
जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध स्थानको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
असोज २६, २०८३ सोमबार २१:४२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।