मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध सर्वोच्च जाने राहुल गान्धीको घोषणा, भने- ‘मोदी सरकारका २०० अधिकारी हाम्रो सम्पर्कमा छन्'
एजेन्सी : भारतीय विपक्षी गठबन्धनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र निर्वाचनमा भएको भनिएको धाँधली तथा 'भोट चोरी' विरुद्ध सोमबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने भएको छ।
सोमबार इन्दिरा भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सांसद तथा लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तले निर्वाचनमा धाँधली तथा ‘भोट चोरी’ गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिने बताए।
उनले भारतीय जनता पार्टी (भाजपा) का कुनै नेता वा कार्यकर्ता सहभागी हुन चाहे पनि सर्वोच्च अदालतसम्मको प्रस्तावित मार्चमा सहभागी हुन सक्ने भन्दै सबैलाई आह्वान गरेका छन्।
पत्रकार सम्मेलनका क्रममा राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका २०० जना भन्दा बढी अधिकारीहरू विपक्षी गठबन्धनको सम्पर्कमा रहेको र उनीहरूले भित्री सूचनाहरू उपलब्ध गराइरहेको दाबीसमेत गरे।
गान्धीले भने, "म प्रधानमन्त्री मोदीलाई भन्न चाहन्छु, तपाईंका आफ्नै सरकारका २०० जना अधिकारीहरू हाम्रो सम्पर्कमा छन् र उनीहरूले हामीलाई सूचनाहरू पठाइरहेका छन्।"
मतदाता नामावलीको विशेष गहन पुनरीक्षणमा व्यापक अनियमितता भएको आरोप लगाउँदै विपक्षी गठबन्धनले नयाँ दिल्लीको कनाट प्लेसदेखि सर्वोच्च अदालतसम्म मार्च पासको आह्वान गरेको छ।
गठबन्धनले सोमबार नयाँदिल्लीको कन्नट प्लेसबाट सर्वोच्च अदालतसम्म मार्च गर्ने कार्यक्रम राखेको छ। मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको र त्यसले मत चोरीको आशंका बढाएको विपक्षी दलहरूको आरोप छ।
यसअघि लगातार दुई दिनसम्म दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने प्रदर्शनमा सहभागी हुन खोज्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रदर्शनकारीलाई निर्धारित प्रदर्शनस्थल जन्तरमन्तरमा भेला हुन नदिन प्रहरीले त्यहाँ जाने सडकहरूमा अवरोध खडा गरेको छ। साथै, सम्भावित प्रदर्शनलाई नियन्त्रण गर्न विभिन्न प्रमुख चोक तथा सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
असोज २६, २०८३ सोमबार १३:२३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।