विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो, नेपाल, इजिप्ट र ताजिकिस्तानमा भने घट्यो

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो, नेपाल, इजिप्ट र ताजिकिस्तानमा भने घट्यो
तस्विर : एएफपी

एजेन्सी : विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्या एक अर्ब २० करोड पुगेको छ।

युएनडीपी र अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकाससम्बन्धी अनुसन्धान केन्द्रले तयार पारेको सन् २०२६ को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष तीव्र गरिबीमा बाँच्ने मानिसको सङ्ख्या पाँच करोड १५ लाखले बढेको छ। गरिब जनसङ्ख्यामा भएको यो वृद्धिको मुख्य कारण जनसङ्ख्या वृद्धि रहेको प्रतिवेदनमा उल्लेख छ।

युएनडीपीका प्रशासक अलेक्जान्डर डे क्रोले गरिबीमा भएको वृद्धिलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार गरिबीमा रहेका एक अर्ब २० करोड मानिसहरु भोकमरी, विद्यालय शिक्षाबाट वञ्चित  हुनुका साथै स्वच्छ खानेपानी र बिजुलीको अभावजस्ता आधारभूत सुविधाको अभाव झेलिरहेका छन्। 

प्रतिवेदनअनुसार तीव्र गरिबीमा रहेका आधाभन्दा बढी मानिस बालबालिका छन्।

प्रतिवेदनमा समेटिएका १०८ विकासोन्मुख देशमध्ये १३ देशमा मात्रै जनसङ्ख्या वृद्धिसँग सम्बन्धित नयाँ तथ्याङ्क उपलब्ध रहेको पनि युएनडीपीले जनाएको छ।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्षको प्रतिवेदनले पनि विश्वका अधिकांश गरिब मानिस उपसहारा अफ्रिका र दक्षिण एसियामा बसोबास गर्ने देखाएको छ। विशेषगरी भारतीय उपमहाद्वीपमा गरिबीको समस्या गम्भीर छ।

प्रतिवेदनअनुसार इजिप्ट, नेपाल र ताजिकिस्तानमा गरिबीको दर तथा बहुआयामिक गरिबीमा बाँच्ने मानिसको सङ्ख्या दुवै उल्लेखनीय रूपमा घटेको छ।

पछिल्लो १५ वर्षमा ३३ देशले बहुआयामिक गरिबीमा बाँच्ने जनसङ्ख्याको अनुपात आधा घटाएका छन्। तीमध्ये उपसहारा अफ्रिकाका छ देश छन्। चीन र भियतनामसहित एसियाली देशहरूले गरिबी घटाउन तीव्र प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ। अङ्गोला र जाम्बियामा पनि गरिबीको दर घटे पनि जनसङ्ख्या वृद्धिका कारण गरिबीमा रहेका मानिसको कुल सङ्ख्या भने बढेको छ।

प्रतिवेदनमा प्रयोग गरिएको बहुआयामिक गरिबी सूचकाङ्कले आम्दानीलाई मात्र आधार मान्दैन। यसले पर्याप्त आवास, सरसफाइ, बिजुली, खाना पकाउने इन्धन, पोषण तथा शिक्षामा पहुँचको अवस्थासमेत मूल्याङ्कन गर्छ।

असोज २६, २०८३ सोमबार ११:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।