दुर्गा पक्षको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौं : नवरात्रको दोस्रो दिन आज दशैं घर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। सोही दिन घटस्थापना स्थलमा पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा गरिँदैछ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ पनि गरिन्छ।
नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।
संसारका समस्त प्राणीलाई सच्चिदानन्दरूप ब्रह्मको बोध गराउन निरन्तर लागिरहने मान्यताका कारण नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना र दर्शनका लागि भक्तजनको भीड लागेको छ। राज्यको तर्फबाट नवदुर्गाको पूजा गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
असोज २६, २०८३ सोमबार ०७:२८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।