ओलीको आरोप : विपद् व्यवस्थापनमा सरकारले साँघुरो मन बनायो

ओलीको आरोप : विपद् व्यवस्थापनमा सरकारले साँघुरो मन बनायो

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल र अनुदार देखिएको आरोप लगाएका छन्।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकारले पर्याप्त गम्भीरता नदेखाएको उनले टिप्पणी गरे। 

मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गोरखाको बुढीगण्डकी बाढीले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। यसअघि भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा उद्धार तथा राहत कार्यमा कमजोरी भएको आरोप लगाउँदै उनले बुढीगण्डकी बाढी बाढी प्रभावितका हकमा त्यस्ता समस्या दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, "सबैभन्दा बढी त सरकारको कर्तव्य नै हो यो। त्यसकारण, यसअघि भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा सरकारले हेलिकोप्टर नियन्त्रण गर्ने, दुरुपयोग गर्ने तथा राहत र उद्धारका कार्य समयमै नगरेको अवस्था थियो। यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु।"

उनले उद्धार तथा राहत कार्यमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए। विपद्का बेला सर्वदलीय संयन्त्र निर्माण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका उनले सरकारी हेलिकोप्टरको परिचालन तथा राहत वितरणमा समेत प्रश्न उठाए।

अध्यक्ष ओलीले विगतका विपद्का समयमा वैदेशिक सहयोगको उचित सदुपयोग हुन नसकेको र सहयोग स्वीकार गर्न ढिलाइ हुँदा उद्धार कार्य प्रभावित भएको आरोपसमेत लगाए। 

उनले भने, "सरकार फराकिलो मन र फराकिलो पनका साथ उद्धार कार्यमा अगाडि बढोस्। सरकारले एउटा सर्वदलीय समिति सम्म बनाउने फराकिलोपन पनि देखाउन सकेन। कति साँघुरो मन, साँघुरोपन देखायो। सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो। वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन। समयमा स्वीकार नगर्दा अनावश्यक रूपमा उद्धार अभियानको अभावमा थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको मान्न सकिन्छ।"

यसैबीच, ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।

"आज फेरि अर्को विपत्ति आइरहेको छ, बुढीगण्डकीमा बाढी गएर। केही घर बगाएको छ, केही व्यक्ति बेपत्ता हुनुभएको छ र निकै ठूलो क्षति भएको छ," उनले भने, "यस विपत्तिको घडीमा उद्धार र राहत कार्यमा जुट्न तथा आवश्यकताअनुसार पुनर्निर्माण एवं पुनःस्थापनामा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्न चाहन्छु।"

असोज २५, २०८३ आइतबार १८:०१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।