वैदिक विधि र मङ्गल धूनका साथ हनुमानढोकाको दशैंघरमा घटस्थापना (तस्वीरहरू)
काठमाडौं : बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको बिहान ११:४७ बजेको साइतमा पूजाआराधना गरी जमरा राखिएको हो। हनुमानढोकाको नासल चोकस्थित दशैं घरमा घटस्थापना गरी परम्परागत विधिअनुसार जौ छरेर जमरा रखिएको छ।
धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि होइन। तर, जौसँगै मकै, गहुँलगायत अन्न छरेर राख्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ।

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ। जमरा राखेसँगै बडादशैं आजदेखि विधिवत् रूपमा आरम्भ भएको छ। दशैं घरका अतिरिक्त आज देशभरका विभिन्न शक्तिपीठ पनि कलश स्थापना गरी जमरा राख्ने कार्य गरिन्छ।

दुर्गाका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने गरिन्छ।


असोज २५, २०८३ आइतबार १४:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।