समयमै सतर्कता अपनाउँदा मानवीय क्षति हुन पाएन, धादिङ र गोरखाको सडक सम्पर्क विच्छेद : प्रजिअ गौतम

समयमै सतर्कता अपनाउँदा मानवीय क्षति हुन पाएन, धादिङ र गोरखाको सडक सम्पर्क विच्छेद : प्रजिअ गौतम

काठमाडौं : गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पक्की पक्की पुल बगाएको छ। पुल बगेसँगै धादिङ र गोरखाबिचको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। बाढीले नदी किनारका खेत तथा जग्गाहरू कटान कटान गरेको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार समयमै सतर्कता अपनाइएका कारण मानवीय क्षति भने भएको छैन।

बाढीको पूर्वसूचना प्राप्त हुनासाथ जिल्लाका सम्पूर्ण सुरक्षाकर्मीलाई परिचालन गरिएको र स्थानीय तहसँगको समन्वयमा माइकिङ तथा सामाजिक सञ्जालमार्फत समयमै सूचना प्रवाह गरी जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिइन्। 

"बाढीको सूचना प्राप्त भइसकेपछि सबै सुरक्षाकर्मी परिचालन गरेका छौँ। स्थानीय पालिकाहरूले माइकिङ गरेर र सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गरेर सबै नागरिकहरुलाई सुरक्षित स्थानतर्फ लगिएको छ," उनले भनिन्। 

बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएपछि गोरखा जाने तथा चितवनलगायतका क्षेत्रसँगको सडक सम्पर्क प्रभावित भएको उनले बताइन्।

"पुल बगाएपछि गोरखालगायत विभिन्न ठाउँ र चितवनतिर जाने सबै कनेक्सन टुट्यो,"’ उनले भनिन्।

प्रजिअ गौतमका अनुसार बाढीमा लेदोसहित घरजत्रा ठूला चट्टानहरू बगेर आएका छन् र हाल नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेको छ।

"बाढी ठूलै आएको छ। लेदोसहित घरजत्रा ठूला चट्टान बगाएर ल्याएको अवस्था छ," उनले भनिन्।

बाढी धादिङ पार गरेर त्रिशूली नदीमा मिसिइसकेको पनि गौतमले जानकारी दिइन्।

धादिङमा नदी किनारका खेत तथा जग्गामा कटान भए पनि अन्य ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको उनले बताइन्। गोरखामा भने बाढीले बस्तीसमेत बगाएको प्रारम्भिक जानकारी आएको र त्यहाँको पछिल्लो अवस्थाबारे सम्पर्क हुन नसकेको उनले उल्लेख गरिन्।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता र उद्धारसम्बन्धी तयारीलाई निरन्तरता दिएको छ।

असोज २५, २०८३ आइतबार १०:५९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।