गगनको काँधमा 'मक्किएको' कांग्रेसको विरासत

गगनको काँधमा 'मक्किएको' कांग्रेसको विरासत

काठमाडौं : एक साधारण थापा परिवारको ठिटो, जसका बुबा नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर थिए-राजनीतिमा कुनै साइनो वा ठूलो घरानाको विरासत नभएको उनै ठिटो नेपालको राजनीतिमा जुझारु युवा नेता गगन थापाको रूपमा परिचित भए र २०८३ असोजमा मुलुकको सबैभन्दा पुरानो, लोकतान्त्रिक दल नेपाली कांग्रेसको सर्वोच्च पदमा पुगे।

उनी विशेष महाधिवेशनबाटै पार्टी सभापतिमा चयन भएका त हुन्, तर पार्टी भित्रको विवादले प्राविधिक रूपमा उनी सर्वसम्मत निर्वाचित भए पार्टीभित्र सर्वसम्मत हुन सकेनन्। उनी सर्वसम्मत अर्थात् दलभित्र संगठित सबैले सभापतिका रूपमा स्वीकार गर्ने वातावरण बनेन।

विशेष महाधिवेशनपछिको प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले पाएको कमजोर जनमत अनि पार्टी भित्र बढ्दो द्वन्द्वमा चेपिएका उनीसँगै कांग्रेसको भविष्य पनि धुमिल देखिएको थियो। तर विवादकैबीच गगनले १५औँ महाधिवेशनको आयोजना गरे। शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनमा लागे पनि सात हजार बढी प्रतिनिधि सहभागी भएर उनलाई यस पटक सर्वसम्मत हैन, प्रतिस्पर्धाबाट पार्टीको सभापतिमा निर्वाचित भए ।

असोज २४ बिहान सार्वजनिक परिणामअनुसार उनी कुल खसेको मतमध्ये ९३.८८ प्रतिशत (६ हजार ५ सय ८४ मत) ल्याएर पार्टीको सभापति बने। १५ औँ महाधिवेशनको नतिजाले कांग्रेसमा केवल नेतृत्व परिवर्तन मात्र गरेको छैन, यसले कांग्रेसभित्र दशकौँदेखि जरा गाडेर बसेको ‘कोइराला विरासत’ र वरिष्ठ नेताहरूको बाक्लो घेराबन्दीलाई समेत तोडिदिएको छ।

तर थापाको यो यात्रा सुगम थिएन, यो सडकको धुलो, विद्यार्थी आन्दोलनको आँधी र अनगिन्ती आन्तरिक संघर्ष पार गरेर पुगेको उचाइ हो।

'दरबारिया एजेन्ट' को ट्यागदेखि गणतन्त्रको शंखघोषसम्म

२०४६ सालको जनआन्दोलनमा स्कुलको ब्याग बोकेर सडकमा ओर्लिएका गगनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन। २०५५ मा त्रिचन्द्र कलेजको स्ववियु सभापति र २०५९ मा नेविसंघको महामन्त्री बन्दा नै उनका समकालीनहरू कलेजका सभापति भइसकेका थिए। तर उनले पदभन्दा आफ्नो ओजिलो विचार र खरो भाषणकलाले युवाहरूको प्रिय बने।

राजा ज्ञानेन्द्र शाहले निरङ्कुशता लाद्न खोज्दा पार्टीले औपचारिक निर्णय नगर्दै गगन सडकबाट गणतन्त्रको नारा उचाल्ने तिनै युवा नेता थिए, जसलाई आफ्नै पार्टीका सभापति गिरिजाप्रसाद कोइरालाले 'दरबारिया एजेन्ट' सम्मको आरोप लगाएका थिए।

तर इतिहासले गगनको त्यो आँटलाई सही साबित गरिदियो। दरबारको एजेन्ट भन्ने सभापति कोइराला पछि आफैँ गणतान्त्रिक नेता बने। त्यसपछिको संविधान सभा निर्वाचनले गगनका लागि सडकबाट सदनको राजनीतिक ढोका उघारिदियो।

पहिलो संविधानसभाबाट संसदीय राजनीतिमा प्रवेश गरेका उनी २०७३ मा पहिलोपटक स्वास्थ्यमन्त्री बन्दा सार्वजनिक स्वास्थ्य सुधार र स्वास्थ्य बीमाका काम गरेर सुधार गर्न सक्ने नेतृत्वको छाप छाड्न सफल भएका थिए।

लड्दै पड्दै आएको नेतृत्व

पार्टी राजनीतिमा उनी २०६७ को १२ औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा  सर्वाधिक मत (२०६१) सहित निर्वाचित भएका थिए। त्यसपछि उनी एकाएक पार्टी महामन्त्रीको उम्मेदवार बने। २०७२ को १३ औँ महाधिवेशनमा कृष्ण सिटौलासँग प्यानल बनाएर महामन्त्रीमा प्रतिस्पर्धा गर्दा उनी पराजित भए। मत जम्मा ५८४ आयो।

२०७८ मा उनले शेखर कोइरालासँग मिलेर प्यानल बनाए। शेखरले शेरबहादुर देउवालाई चुनौती दिए। गगनले पुन ३०३२को सर्वाधिक रेकर्डसहित महामन्त्रीमा निर्वाचित भए। पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि नै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका थिए।

तर सहजै उनको काँधमा नेतृत्व आउने अवस्था थिएन । आफ्नै समूहका शेखर कोइरालादेखि पार्टीमा बलियो पकड बनाएको शेरबहादुर देउवा समूहको उम्मेदवारसँग फलामे प्रतिस्पर्धा पक्कापक्की थियो।

२०८२ फागुन २३-२४ को जेनजी पुस्ताको आन्दोलनले राजनीतिको दृश्य नै बदलिदियो। त्यसले गगनलाई पार्टीको नियमित हैन विशेष महाधिवेशनको नेतृत्वकर्ता बनायो र सर्वसम्मत सभापति चयन पनि भए। त्यसैको निरन्तरतामा २०८३ असोजमा १५ औँ नियमित महाधिवेशन गरे र पुन सर्वाधिक ६ ५८४ मतसहित सभापतिमा निर्वाचित भए।

एकातिर पार्टी संसदीय राजनीतिमा कमजोर बन्दै गएको छ भने अर्कोतिर उनी आफैँ हालैको निर्वाचनमा पराजित नेता हुन्। पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता दशकौँ राजनीति गरेका दिग्गजहरूको पङ्क्ति पार्टी बाहिर समानान्तर गतिविधिमा सक्रिय छन्।  

अदालतमा पार्टीको आधिकारिकताको विवाद विचाराधीनै छ। सँगै सहकार्य गरेर आएका अर्का लोकप्रिय नेता विश्वप्रकाश शर्मासँगको ट्युनिङ मिलाउनु अनि अब सभापतिको रुपमा आफ्नो घेराबाट बाहिर निस्कनु उनको अर्को अनिवार्य बाध्यता हो।

एकातिर विभाजित र आन्तरिक ध्रुवीकरणले शिथिल बनेको पार्टीलाई एकताबद्ध गर्दै, आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा एमाले अनि नेपाली कम्युनिस्ट पार्टी मात्र हैन राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो संसदीय राजनीतिमा निकै बलियो उपस्थिति रहेको दलहरूसँग प्रतिस्पर्धा गर्नु गगनको नेतृत्वको कठिन परीक्षा हो।

अहिलेसम्मको निरन्तर राजनीतिक उचाइमा गगनको मुख्य हतियार विधि, पद्धति र सिद्धान्तको राजनीतिको 'कुरा' नै हुन्। यही 'कुरा' अनि केही कार्यान्वयन परिणामको बलमा पार्टी सभापतिसम्म पुगेका उनका लागि अब केवल भाषणमा मात्र सीमित हुने छुट छैन। उनले अब बहाना होइन, सुधारसहितको ठोस परिणाम दिनुपर्नेछ।

उनी यसमा कति सफल हुन सक्लान् ? अबको उनको राजनीतिक इतिहास यही प्रश्नको उत्तरमा निर्भर छ।

असोज २४, २०८३ शनिबार २२:०२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।