बिहानैदेखि तनावपूर्ण अवस्थामा रहेको नयाँ दिल्लीमा अहिलेसम्म के-के भयो ?
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा शनिबार जन्तर-मन्तरतर्फ विरोध प्रदर्शनका लागि अघि बढेका राजनीतिक दलका शीर्ष नेताहरू, कानुन व्यवसायी, विद्यार्थी, पत्रकार तथा नागरिकहरूलाई दिल्ली प्रहरीले व्यापक रूपमा नियन्त्रणमा लिएको छ।
मतदाता नामावली पुनरावलोकन (एसआईआर) मा भएको अनियमिततालाई लिएर प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टी (सिजेपी)ले शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर, दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति दिन दिएन। अनुमति नपाए पनि जन्तर मन्तरमा तय गरिएको प्रदर्शनमा सहभागी हुन उनीहरू अघि बढेका हुन्।
सोहीक्रममा प्रहरीले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीसहित सयौंलाई नियन्त्रणमा लिएको छ। जन्तर-मन्तरतर्फ मार्च गर्ने क्रममा राज्यसभा सांसद सञ्जय सिंहसहित नियन्त्रणमा लिइएका पूर्व मुख्यमन्त्री केजरीवालले एक भिडियो सन्देशमार्फत 'मत चोरीविरुद्ध युवा जागिसकेको र ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने' माग गरे।
सौरभ भारद्वाजले प्रहरीले केजरीवालमाथि धकेलाधकेल गरेको आरोप लगाएका छन्। टीएमसी सांसद साकेत गोखलेले घटनालाई 'लोकतन्त्रको हत्या' भनेका छन् भने बनर्जीले यो अवस्था 'संकटकालभन्दा पनि खराब' रहेको टिप्पणी गरेकी छन्।
प्रदर्शन रोक्न गुरुद्वारा बंगला साहिब वरपर दिल्ली प्रहरी, केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) र र्यापिड एक्सन फोर्स (आरएएफ) ठूलो संख्यामा परिचालन गरी सडकहरूमा ब्यारिकेड लगाइएको थियो। गुरुद्वारा परिसरमा भेला भएका करिब ६०० प्रदर्शनकारीमध्ये करिब ३०० जनालाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदर्शनकारीहरूले प्रहरीबाट लाठीचार्ज र दुर्व्यवहार भएको आरोप लगाएका छन् भने सुरक्षा निकायसँग ठाउँ ठाउँमा धकेलाधकेल भएको थियो।
यता भारतीय सर्वोच्च अदालत परिसर र वकिलहरूको च्याम्बर नजिकबाट एड्भोकेट-अन-रेकर्ड (एओआर) सुमिता हजारिकासहित कानुन व्यवसायीहरूलाई पनि नियन्त्रणमा लिइयो। यस घटनापछि सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए) ले भारतका प्रधानन्यायाधीश (सीजेआई) सँग हस्तक्षेपको अपिल गरेको थियो। त्यसपछि प्रधानन्यायाधीशले सम्बन्धित अधिकारीहरूलाई हिरासतमा लिइएका कानुन व्यवसायीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
यसैगरी, कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीहरूमाथि पनि प्रहरीले धरपकड गरेको छ। 'न्युजलन्ड्री', 'स्क्रोल डट इन' र 'नवभारत टाइम्स'का पत्रकारहरूलाई परिचयपत्र देखाउँदादेखाउँदै फोन नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो। न्युजलन्ड्री र स्क्रोलले प्रहरीको यस कदमको कडा विरोध गर्दै पत्रकारहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिन माग गरेका छन्। नवभारत टाइम्सका सम्पादक आशिष पाण्डेले भने पत्रकारहरू पछि रिहा भएको जानकारी दिएका छन्।
युट्युबर ध्रुव राठी र काव्या कर्नाटकजस्ता कन्टेन्ट क्रिएटरहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उता, कक्रोच जनता पार्टी (सीजेपी) का नेताहरू अभिजीत दीपके, सौरव दास र आशुतोष राङ्कालाई मुम्बईबाट दिल्ली विमानस्थल ओर्लनासाथ विमानबाटै नियन्त्रणमा लिइएको छ। सीजेपीले आफ्ना कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि हिरासतमा राखिएको जनाउँदै यसलाई 'आवतजावतको स्वतन्त्रतामाथिको खुला उल्लंघन' भनेको छ।
प्रहरी धरपकडका बीच अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोराले प्रदर्शनकारीलाई 'दिल्ली हाट'मा भेला हुन आह्वान गरेकी थिइन्, जहाँ उनी वरिष्ठ अधिवक्ता प्रशान्त भूषण र कार्यकर्ता योगेन्द्रसँगै प्रदर्शनमा सहभागी भइन्। नेहालाई पनि प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै, वामपन्थी विद्यार्थी सङ्गठनहरूले भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालय बाहिर पनि प्रदर्शन गरेका छन्।
प्रदर्शनलाई नियन्त्रणमा राख्न शनिबार नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेसनका सम्पूर्ण रेल सेवा रद्द गरिएको, ५७ वटा मेट्रो स्टेसनमा आवागमन नियन्त्रण, इन्टरनेट बन्द गरिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
असोज २४, २०८३ शनिबार १६:४२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।