नयाँबसपार्कमा दसैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो।
महानगर प्रहरी बल नयाँबसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको जानकारी दिए। महानगरले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको उनको भनाइ छ।
उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ। नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ। प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुलाई सहजै रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा केही दिनदेखि चाडपर्वका निम्ति घर जाने यात्रु बढेको बताए। उनले अरू समयमा प्रत्येक दिन पाँचदेखि छ हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताए।
असोज २४, २०८३ शनिबार १४:१५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।