दिल्लीमा प्रदर्शनकारीसँगै पत्रकार पनि नियन्त्रणमा, प्रहरीले भन्यो- ‘मिडिया भन्ने कोही छैन’
एजेन्सी : कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दिल्ली प्रहरीले प्रदर्शनकारीसँगै केही पत्रकारलाई पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका पत्रकार न्यूजलान्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्ससँग आबद्ध छन्।
न्यूजलान्ड्रीले आधिकारिक वक्तव्य निकालेर आफ्ना पत्रकारले आफू मिडियाबाट भएको बताउँदा ‘कुनै मिडिया छैन’ भन्ने जवाफ पाएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार पत्रकारका फोन पनि खोसिएका छन्। प्रदर्शनकारी र पत्रकार गरी करिब ३० जनालाई एउटै बसमा राखिएको छ।
न्यूजलान्ड्रीले भनेको छ, “पत्रकारको काम समाचार दिनु हो, विरोध प्रदर्शन गर्नु होइन। उनीहरूले प्रहरीको कामलाई बाधा पुर्याएका थिएनन्। कुन आधारमा उनीहरूलाई हिरासतमा लिइँदै छ र फोन जफत गरिँदै छ? दिल्ली प्रहरीले यी कारबाहीको जवाफ दिनुपर्छ र पत्रकारलाई बिनाडर काम गर्न दिनुपर्छ।”
स्क्रोल डट इनले आफ्ना एक पत्रकारलाई आईटीओ नजिकबाट हिरासतमा लिइएको जनाएको छ। उसको विज्ञप्तिअनुसार ती पत्रकार जन्तरमन्तरमा समेत थिएनन्।
उनको प्रेस कार्ड स्पष्ट देखिने गरी राखिएको थियो र उनले आफू पत्रकार भएको कुरा प्रहरीलाई धेरै पटक भनेका थिए। तैपनि उनलाई जबरजस्ती भ्यानमा राखेर लगियो।
नवभारत टाइम्सका सम्पादक आशीष पाण्डेले आफ्ना दुई पत्रकारलाई प्रहरीले हिरासतमा लिएको बताए।
उनका अनुसार प्रहरीले उनीहरूलाई दरियागन्जतर्फ लगिरहेको थियो। उनको टोलीसँग मिडियाको परिचयपत्र थियो र त्यो स्पष्ट देखिन्थ्यो। तर पछि पाण्डेले उनीहरू रिहा भएको जानकारी दिए।
यसअघि केही कन्टेन्ट क्रिएटरलाई पनि प्रहरीले हिरासतमा लिएको थियो। तीमध्ये यूट्युबर ध्रुव राठी र ‘काव्या कर्नाटक’ पनि छन्।
असोज २४, २०८३ शनिबार १४:१०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।