शिक्षा अङ्क ल्याउन मात्र होइन, जिम्मेवार नागरिक बनाउन हो : राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र नभई भविष्यका चुनौती र अवसरहरूको सामना गर्न सक्ने गरी तयार पार्नुपर्ने बताएका छन्।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ को अवसरमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आधुनिक विश्वमा विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चार क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै बदलेको धारणा व्यक्त गरे।
"आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ, विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ, यस्तो अवस्थामा हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ", उनले भने।
उनले प्रविधिको तीव्र विकाससँगै मानवीय विवेक र संवेदनशीलताको महत्त्व अझ बढेकाले आधुनिक ज्ञान-सीपका साथै मानवता, सहिष्णुता र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
"प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्दै जान्छ, त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ," राष्ट्रपति पौडेलले भने।
उनले विद्यालय केवल पाठ्यपुस्तकको ज्ञान दिने ठाउँ मात्र नभई अनुशासन, इमानदारिता, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनका महत्वपूर्ण मूल्यहरू सिकाउने थलो भएको बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाको मूल उद्देश्य विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र नभई उनीहरूलाई समस्या समाधान गर्न सक्ने, प्रविधिको सदुपयोग गर्ने र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउनु भएको बताए। यस्तो व्यावहारिक र गुणस्तरीय शिक्षाको आधार तयार पार्न सरकार, नीतिनिर्माता तथा शिक्षा क्षेत्रका सबै सरोकारवालाहरूबीच बलियो सहकार्य हुनुपर्नेमा उनले जोड दिए।
"शिक्षा दिने भनेको विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क प्राप्त गर्ने मात्र होइन, समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्न सक्ने, प्रविधिको सदुपयोग गर्न सक्ने र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु पनि हो, यसमा सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबैको सहकार्य आवश्यक छ,” राष्ट्रपति पौडेलले भने।
असोज २४, २०८३ शनिबार १२:५६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।