मुग्लिङ-काठमाडौं सडक अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक र अत्यावश्यक सवारीलाई प्राथमिकता

मुग्लिङ-काठमाडौं सडक अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक र अत्यावश्यक सवारीलाई प्राथमिकता

हेटौँड : धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भई मुग्लिङ-काठमाडौं राजमार्ग प्रभावित भएपछि हेटौँडा हुँदै काठमाडौँतर्फ जाने-आउने सवारीसाधनको चाप अत्यधिक बढेको छ।

बडादसैँको समयमा यात्रुको चापलाई ध्यानमा राख्दै मकवानपुर ट्राफिक प्रहरीले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिएर आवागमन व्यवस्थापन गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिए। उनका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ। त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ

“यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएका छौँ। सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले समय मिलाएर सवारी सञ्चालन गर्नुपरेको छ”, प्रमुख विष्टले भने। उनका अनुसार सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ।

साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडकखण्डबाट आवागमनको व्यवस्था मिलाइएको प्रमुख विष्टले जानकारी दिए। हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनको पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको छ। भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको, देउराली तथा जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए।

यसैबीच, आइतबारदेखि सुरु हुने बडादसैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। यात्रुबाट बढी भाडा असुल्ने, सवारीसाधन चढ्न समस्या हुने तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने अवस्थालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख विष्टले जानकारी दिए।

उनका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, अप्ठ्यारा घुम्ती तथा जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न तथा सडकको अवस्थाअनुसार सावधानी अपनाउन सचेत गराइएको छ। कार्यालयमा उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै प्रमुख विष्टले सडकको अवस्था र सवारी चापलाई ध्यानमा राखेर थप व्यवस्थापन गरिने बताए।

असोज २४, २०८३ शनिबार १२:३५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।