बाढीपहिरोपछि पर्वतका पाँच पालिका 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा, ३०० परिवार विस्थापित

बाढीपहिरोपछि पर्वतका पाँच पालिका 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा, ३०० परिवार विस्थापित

पर्वत : सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि जलजला गाउँपालिकालाई पूर्ण रूपमा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

यसैगरी, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११ लाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ। विहादी गाउँपालिकाको वडा नं ६ शालिग्राम, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो। 

यही असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी र अतिभारी वर्षाका कारण बाढी तथा पहिरोबाट यी क्षेत्र अति प्रभावित भएका हुन्। यी क्षेत्रमा सङ्कट व्यवस्थापन, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणलाई  प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था राजपत्रमा गरिएको छ। बाढीबाट ३०० घरपरिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। 

निजी घरबाहेक विद्यालय, कृषि फार्म, स्वास्थ्यचौकी, मन्दिर र वडा कार्यालय पनि जोखिममा परेका छन्। यसैगरी कृषि, पशुपालन, सिँचाइ, खानेपानी, सडकलगायत क्षेत्रमा व्यापक क्षति भएको छ। 

यसैगरी, बागलुङका निसिखोला, बडिगाड, तमानखोला र ताराखोला गाउँपालिका, नवरपरासीको सुस्ता गाउँपालिका, गोरखाको शहिल लखन गाउँपालिका वडा नं ३ र ४, मनाङका चामे, नाँसो र मनाङ डिस्याङ गाउँपालिका तथा म्याग्दीका छ वटै गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

असोज २४, २०८३ शनिबार ११:०७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।