सीजेपीको प्रदर्शनअघि प्रहरीले ध्रुव राठीलाई घरबाटै उठायो, दिल्लीमा ३५ हजार सुरक्षाकर्मी परिचालन

सीजेपीको प्रदर्शनअघि प्रहरीले ध्रुव राठीलाई घरबाटै उठायो, दिल्लीमा ३५ हजार सुरक्षाकर्मी परिचालन

एजेन्सी : भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी (सीजेपी)ले आज शनिबार दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।

प्रदर्शन रोक्न दिल्लीभर कडा सुरक्षा गरिएको छ। दिल्ली प्रहरीका अनुसार बिहानैदेखि ५०० भन्दा बढी मानिस हिरासतमा परेका छन्। विहान १० बजेअघि नै चर्चित यूट्युबर ध्रुव राठीसमेत हिरासतमा परेका छन्।

सीजेपी र आइसा (अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन) लगायत संगठनले मतदाता नामावलीको विशेष पुनरीक्षण (एसआईआर) मा अनियमितता भएको आरोप लगाएका छन्।

सीजेपी ज्ञानेश कुमारको राजीनामा, एसआईआर खारेजी र निर्वाचन आयुक्त छनोटका लागि स्वतन्त्र प्रक्रिया माग गरिरहेको छ। पार्टीले यसलाई ‘जन्तरमन्तर २.०’ भनेको छ। आजै सीजेपीले एक्समा ‘जन्तरमन्तर २.० सुरु भइसकेको’ भन्दै ‘ज्ञानेश कुमार, मत चोर्न सघाउने तिम्रो समय सकियो’ भनेको छ।

गुरुग्राम प्रहरीले राठीलाई हिरासतमा लिएको पुष्टि गरेको बीबीसीले जनाएको छ। सीजेपीको दाबीअनुसार बिहान करिब ८ बजे सादा पोसाकका करिब ५० प्रहरी उनको घर पुगेका थिए।

यसअघि शुक्रबार राति राठीले इन्डिया गेटअगाडिको भिडियो राखेर सरकारले प्रदर्शनका कारण मेट्रो र ट्रेन रोकेको आरोप लगाएका थिए। उनले सरकार डराएको दाबी गरेका थिए। यसैबीच ‘काव्या कर्णाटक’ नामका व्यक्तिसमेत हिरासतमा परेको समाचार छ।

५०० भन्दा बढी हिरासतमा, ३५ हजार सुरक्षाकर्मी
दिल्ली प्रहरीले करिब ५०० जना विभिन्न स्थानबाट समूहमा आउँदै गर्दा हिरासतमा लिइएको बताएको छ। आपराधिक पृष्ठभूमि भएका करिब ५० जनालाई वातावरण बिगार्न सक्ने भन्दै पक्राउ गरिएको प्रहरीको भनाइ छ। नयाँ दिल्लीलाई २० क्षेत्रमा विभाजन गरेर प्रत्येकमा हिरासत केन्द्र बनाइएको छ।

दिल्लीका सबै स्टेडियममा पनि हिरासत केन्द्र बनाइएको प्रहरीले जनाएको छ। द वीकका अनुसार दिल्लीभर ३५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन्। ईटीभी भारतले भने करिब २५ हजार प्रहरी र अर्धसैनिक तैनाथ भएको जनाएको छ। संख्या स्रोतअनुसार फरक परेको छ। 

सीमा क्षेत्रमा सवारी जाँच बढाइएको छ। रेलवे स्टेशन, बस टर्मिनल र होटलमा निगरानी छ। फिरोजशाह रोड, मण्डी हाउस र जन्तरमन्तर आसपास द्रुत कार्य बल (आरएएफ) तैनाथ छ।

दक्षिणी दिल्लीका डीसीपी अनन्त मित्तलका अनुसार सिमानामा करिब १२ वटा पिकेट राखिएको छ। प्रहरीको अनुमान छ कि ७ हजारभन्दा बढी प्रदर्शनकारी आउन सक्छन्। आजै बिहान ६ बजेदेखि जन्तरमन्तर र संसद मार्ग आसपास यातायात मोड्ने व्यवस्था लागू भएको छ।

अनुमति किन अस्वीकार?
नयाँ दिल्ली जिल्लाका डीसीपीले सीजेपीका सह-संयोजक सौरभ दास र संयुक्त सचिव बालकृष्णलाई पत्र लेखेका थिए। त्यसमा ‘व्यापक सार्वजनिक हितका लागि’ अनुमति दिन नसकिने उल्लेख छ।

प्रहरीका अनुसार जन्तरमन्तरमा कार्यक्रमका लागि कम्तीमा १० दिनअघि निवेदन दिनुपर्ने नियम छ। सीजेपीले पठाएको सूचना निवेदन नभई जानकारी मात्र थियो भन्ने प्रहरीको तर्क छ। पहिलेका प्रदर्शनमा तोकिएको समयभन्दा बढी बसेर कानुन व्यवस्थामा समस्या भएको कुरा पनि प्रहरीले उल्लेख गरेको छ।

प्रदर्शन क्षेत्रमा निषेधाज्ञा लागू छ। प्रदर्शन क्षेत्रको वरपर मोबाइल इन्टरनेट निलम्बन गर्ने आदेश दिइएको छ। सीजेपीले यसलाई मानिसलाई आउनबाट रोक्ने प्रयास भनेको छ। प्रहरीले अनुमतिबिना भीड जम्मा हुँदा सार्वजनिक सुरक्षामा असर पर्ने तर्कसहित प्रतिबन्ध आवश्यक भएको बताएको छ।

ट्रेन रद्द, मेट्रो स्टेशनमा प्रतिबन्ध
रेलवे बोर्डको निर्णयअनुसार असोज २३ (अक्टोबर ९) दिउँसो २ बजेपछि अन्य राज्यबाट छुटेर आज बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली र हजरत निजामुद्दिन पुग्ने ट्रेन रद्द गरिएका थिए।

पहिले ३८ वटा मेल/एक्स्प्रेस ट्रेन रद्द भएको जनाइएको थियो। पछि उत्तर रेलवेले स्थानीय ट्रेनसमेत जोडेर रद्द ट्रेनको संख्या २५० भन्दा बढी पुर्यायो। उत्तर रेलवेका एक अधिकारीले संख्या अझै बढ्न सक्ने र रद्दको जानकारीमा अन्योल भएको स्वीकार गरेका छन्।

मेट्रोतर्फ कम्तीमा ४५ स्टेशनमा प्रवेश र निकासमा प्रतिबन्ध छ। राठीले ५० भन्दा बढी स्टेशन बन्द भएको दाबी गरेका थिए, तर पछिल्ला स्रोतहरूमा ४५ संख्या देखिन्छ। जन्तरमन्तर आसपासका क्षेत्रमा एप-आधारित ट्याक्सी र अन्य सार्वजनिक यातायातमा पनि प्रतिबन्ध हुने अपेक्षा छ।

रेलवे बोर्डका पूर्वसदस्य सुबोध जैनले यति धेरै ट्रेन रद्द गर्नु प्रदर्शनकारीसामु झुक्नुजस्तै भएको टिप्पणी गरे। अखिल भारतीय रेलवेमेन्स फेडरेसनका महासचिव शिवगोपाल मिश्राले यसअघि यस्तो उदाहरण याद नभएको बताए।

सर्वोच्चमा अवहेलनाको निवेदन
मेट्रो र ट्रेन बन्द गरिएकोमा सर्वोच्च अदालतमा अदालतको अवहेलनाको निवेदन दर्ता भएको छ। लाइभ लका अनुसार निवेदन गृह मन्त्रालयका सचिव गोविन्द मोहन, दिल्ली प्रहरी आयुक्त अनुराग कुमार र दिल्ली मेट्रोकी अध्यक्ष डी. थाराविरुद्ध हो।

यातायात सेवा पूर्ण रूपमा बन्द नगर्ने अदालतको निर्देशन उल्लंघन भएको निवेदकको दाबी छ। सर्वोच्चले शुक्रबार नै केन्द्र सरकार र दिल्ली प्रहरीलाई मेट्रो र ट्रेनमा लगाइएको प्रतिबन्धबारे पुनर्विचार गर्न निर्देशन दिएको थियो।

सीजेपी नेता: पक्राउ गरे पनि पछि हट्दैनौँ
संस्थापक अभिजीत दीपके मुम्बईबाट दिल्ली आइपुग्ने तयारीमा थिए। उनी करिब ९:३० देखि १० बजेबीच दिल्ली पुग्ने जनाइएको थियो। उनले प्रदर्शन आफ्नो मौलिक अधिकार रहेको र पक्राउ गरिए पनि लडाइँ रोकिँदैन भने।

यूएपीए वा एनएसए लगाए पनि आफू तयार रहेको उनले बताए। उनले इन्टरनेट बन्द, सडक अवरोध र सेना तथा सीआरपीएफ ल्याइएको आरोप लगाएका छन्। यी आरोपबारे सरकारको प्रतिक्रिया प्राप्त भएको छैन।

उनले एक्समा ‘प्रदर्शन सुरु हुनु अघि नै मोदीले हार स्वीकार गरे’ भनेका छन्। सह-संयोजक आशुतोष रांकाले ‘हातमा संविधान, मनमा गान्धी’ भन्दै हिंसा नगर्न आह्वान गरेका छन्। सह-संयोजक सौरभ दासले दिल्ली प्रहरीले आफ्नो फोन नम्बर सार्वजनिक गरेको र त्यसपछि ३०० भन्दा बढी कल आएको आरोप लगाएका छन्।

को सहभागी, कांग्रेस किन टाढा?
सीजेपीले सबै विपक्षी दललाई निम्तो दिएको थियो। वाम दल (सीपीएम, सीपीआई, सीपीआई-एमएल, आरएसपी र फरवार्ड ब्लक), आम आदमी पार्टी र ममता बनर्जीको तृणमूल कांग्रेस सहभागी हुने सम्भावना छ। अखिलेश यादवले नैतिक समर्थन जनाएका छन्। उनले एक्समा सरकारले रोके देशभर जन्तरमन्तर बन्ने चेतावनी दिएका छन्।

कांग्रेस भने प्रदर्शनबाट टाढै छ। लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धी आज चेन्नईमा ‘छात्रों की गूंज’ अभियानको छैटौँ कार्यक्रममा विद्यार्थी र युवासँग संवाद गर्दै छन्। दक्षिण भारतमा यो अभियानको पहिलो कार्यक्रम हो। यसअघि कोटा, देहरादुन, प्रयागराज, पुणे र इन्दौरमा कार्यक्रम भइसकेका छन्।

अखिल भारतीय इमाम संगठनका प्रमुख उमर अहमद इलियासीले मुस्लिम समुदाय, विशेषगरी युवालाई यो प्रदर्शनमा सहभागी नहुन अपिल गरेका छन्। यो आफ्नो आन्दोलन होइन भन्दै उनले मुस्लिमलाई राजनीतिक दलले प्रयोग मात्र गर्ने बताएका छन्।

असोज २४, २०८३ शनिबार ११:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।