पहिरोले काठमाडौं जोड्ने मुख्य राजमार्गहरू अवरुद्ध, दसैँको मुखमा यात्रुलाई सास्ती

पहिरोले काठमाडौं जोड्ने मुख्य राजमार्गहरू अवरुद्ध, दसैँको मुखमा यात्रुलाई सास्ती

काठमाडौं : अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात ठप्प भएको छ। दसैँको मुखैमा काठमाडौं उपत्यका आवतजावत गर्ने तीनवटै मुख्य राजमार्ग अवरुद्ध हुँदा नागरिकले सास्ती व्यहोर्नुपरेको छ।

पहिरोले पृथ्वी, बीपी र कान्ती लोकपथअवरुद्ध भएका छन्।

प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा त्रिशूली नदीले कटान गर्नुका साथै पहिरो खसेपछि पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। नदीको कटानका कारण सडक चिराचिरा परेकाले गाडी चलाउनै नमिल्ने भएको छ।

यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खस्दा शनिबार बिहानदेखि कान्तिलोकपथ पनि अवरुद्ध भएको छ।

यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।  सडक विभाग र सुरक्षाकर्मीको टोली पहिरो हटाई यातायात सुचारु गर्ने प्रयासमा खटिएका छन्।

रातभरको अविरल वर्षाका कारण नार्के र पिन्थलीबीचको निर्माणाधीन खण्डमा झरेको लेदो माटो र गेग्रान पन्छाएर शनिबार बिहानदेखि अवरुद्ध बीपी राजमार्ग भने पुनः सञ्चालनमा ल्याइएको छ। सडक खुले पनि निर्माणाधीन खण्ड भएकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।

मुख्य राजमार्गहरू बाढी र पहिरोले बन्द हुँदा दसैँ मनाउन काठमाडौंबाट घर फर्किएका यात्रु बिचबाटोमै अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले अन्य सडक खण्डहरूमा पनि पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर, सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न र सावधानीपूर्वक मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

असोज २४, २०८३ शनिबार १०:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।