मतदाता नामावली विवादले भारतमा चर्किँदै आन्दोलन, शनिबार दिल्लीमा प्रदर्शनको लागि प्रहरीले दिएन अनुमति

मतदाता नामावली विवादले भारतमा चर्किँदै आन्दोलन, शनिबार दिल्लीमा प्रदर्शनको लागि प्रहरीले दिएन अनुमति

एजेन्सी : भारतमा मतदाता नामावली पुनरावलोकन (एसआईआर) मा भएको अनियमिततालाई लिएर प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टी (सिजेपी)ले शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलनको घोषणा गरेको छ। तर, दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति दिन मानेको छैन। 

आयोजक सिजेपीले भने प्रदर्शनका लागि प्रहरीले अनुमति नदिए पनि पछि नहट्ने अडान लिएपछि दिल्ली प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। सिजेपीको आह्वानमा हुन लागेको प्रदर्शनमा विपक्षी दलहरूको समर्थन रहेको छ। 

शनिबार नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेसनका सम्पूर्ण रेल सेवा १० घण्टाका लागि रद्द गरिएको, ५७ वटा मेट्रो स्टेसनमा आवागमन नियन्त्रण र करिब सात हजार अर्धसैनिक बल तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले देखेका छन्। 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिल्ली प्रहरीकी जोइन्ट सिपी नूपुर प्रसादले सिजेपीका सह-संयोजक सौरव दासबाट प्राप्त निवेदनलाई प्रक्रियागत आधारमा अस्वीकृत गरिएको जानकारी दिइन्। निर्धारित कार्यविधिअनुसार प्रस्तावित प्रदर्शनको कम्तीमा १० दिन अगावै सूचना दिनुपर्ने प्रावधान भए पनि निकै छोटो समयको सूचनामा निवेदन आएको र यसअघि अनुमति दिँदा पार्टीले कानुनी निर्देशन तथा आफ्ना प्रतिबद्धता उल्लंघन गरेको उनले बताइन्। 

प्रहरीको अनुमति नदिँदा पनि प्रदर्शनकारीहरू भने जन्तर मन्तर पुग्ने अडान राखिरहेका छन्। सिजेपीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भाजपा नेतृत्वको सरकारले प्रदर्शन रोक्न देशभरबाट हजारौं युवाहरूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाए। जस्तोसुकै अवरोधका बीच आफू शनिबार दिल्ली पुगेर जन्तर मन्तरसम्म मार्च गर्ने उनले बताए। 

यस्तै, सरकारले रेल सेवा बन्द गरेर जनताको आवाज दबाउन खोजेको आरोप लगाउँदै सौरभ दासले नागरिकहरू वैकल्पिक माध्यमबाट भए पनि दिल्ली पुग्ने दाबी गरे। प्रदर्शनका कारण हुनसक्ने सम्भावित अशान्ति र सडक आवागमनको अवरोधलाई ध्यानमा राखी भारतीय रेलवेले शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेसनबाट सञ्चालन हुने सम्पूर्ण रेल सेवा रद्द गरेको छ।

असोज २३, २०८३ शुक्रबार १६:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।