घरायसी विवादमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

घरायसी विवादमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : बाराको निजगढमा घरायसी विवादका क्रममा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

निजगढ नगरपालिका–१२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलका चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो।

उपचारपछि सोही दिन राति खाना खाएर सुतेकी सुकुमायालाई भोलिपल्ट बिहान श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि उनको मृत्यु भएको खुलेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ। घटनामा संलग्न श्रीमान् विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

असोज २२, २०८३ बिहीबार १४:२१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।