अनलाइनबाटै बिजुलीको महसुल तिर्न ऊर्जामन्त्रीको आग्रह, भौतिक काउन्टरमै वार्षिक ६० करोड खर्च

अनलाइनबाटै बिजुलीको महसुल तिर्न ऊर्जामन्त्रीको आग्रह, भौतिक काउन्टरमै वार्षिक ६० करोड खर्च

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न आग्रह गरेका छन्। 

अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले भौतिक रूपमा काउन्टरमा गएर लाइन बस्ने परिपाटीको अन्त्य गर्न र डिजिटल माध्यमबाट महसुल तिर्न सर्वसाधारणसँग आग्रह गरेका हुन्।

डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ। साथै, काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने धारणा मन्त्री श्रेष्ठको छ। 

काउन्टर सञ्चालनमै ५९ करोड ७९ लाख खर्च

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत प्राधिकरणका १२९ वटा वितरण केन्द्रअन्तर्गत ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्। यी काउन्टरहरू सञ्चालनका लागि मात्रै मासिक वार्षिक ५९ करोड ७९ लाख रुपैयाँ खर्च भइरहेको छ।

उनले भने, "अझै पनि ठूलो संख्यामा नागरिक काउन्टरमै पुग्नुपर्ने अवस्थालाई अब हामी सबै मिलेर परिवर्तन गर्न सक्छौँ। डिजिटल भुक्तानी गर्दा नागरिकको समय र आवतजावतको खर्च बचत हुन्छ । नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्छ। साथै, काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिन्छ।"

मन्त्री श्रेष्ठले आफ्नो परिवार, छरछिमेक तथा इष्टमित्रलाई डिजिटल भुक्तानीबारे जानकारी गराउन, सिकाउन र प्रोत्साहित गर्न आग्रह गरेका छन्।

असोज २२, २०८३ बिहीबार १२:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।