श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेकी पत्नी पक्राउ
एजेन्सी : श्रीलंकाकी पूर्व प्रथम महिला सिरान्थी राजापाक्षेलाई बाल अस्पतालका लागि संकलित चन्दा रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको छ।
श्रीलंकाको भ्रष्टाचार विरोधी अनुसन्धान निकायले ७३ वर्षीया सिरान्थीलाई बुधबार राजधानी कोलम्बोस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो। उनी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेकी पत्नी हुन्।
सिरान्थी जोडिएको ‘सिरिलिया साविया’ नामक च्यारिटी संस्थाले कोलम्बोस्थित लेडी रिजवे बाल अस्पतालका लागि विशेष स्क्यानर खरिद गर्न भन्दै १ करोड श्रीलंकाली रुपैयाँ (करिब ३० हजार ३०० अमेरिकी डलर) चन्दा संकलन गरेको थियो।
तर, अनुसन्धान अधिकारीहरूका अनुसार सो स्क्यानर चिनियाँ सरकारले पहिले नै उक्त अस्पताललाई अनुदानमा दिइसकेको थियो। चीनले उपकरण उपलब्ध गराइसकेको अवस्थामा पनि च्यारिटीमार्फत उठाइएको रकम हिनामिना गरिएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको हो।
सिरान्थीले भने आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै कुनै पनि रकमको दुरुपयोग नभएको दाबी गरेकी छन्। पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका प्रवक्ता मनोज गमागेले उक्त रकम संस्थाकै बैंक खातामा सुरक्षित रहेको र कुनै घोटाला नभएको बताएका छन्।
उपचारका लागि सिंगापुर पुगेकी सिरान्थी सोमबार मात्र स्वदेश फर्किएकी थिइन्। उनले आफूलाई पक्राउ हुनबाट रोक्न अदालतमा निवेदनसमेत दिएकी थिइन्, जसको सुनुवाइ अक्टोबर १२ का लागि तोकिएको थियो। तर, अदालतको सुनुवाइअघि नै अनुसन्धान अधिकारीहरूले उनलाई पक्राउ गरेका हुन्।
राजापाक्षे परिवारविरुद्ध तीव्र बन्दै अनुसन्धान
श्रीलंकामा नवनिर्वाचित राष्ट्रपति अनुरा कुमार दिसानायाकेको सरकार आएपछि लामो समयदेखि रोकिएका राजापाक्षे परिवार संलग्न भ्रष्टाचारका पुराना फाइलहरू पुनः खोलेर अनुसन्धान तीव्र पारिएको छ।
सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति रहँदा तमिल विद्रोहीलाई परास्त गरी झन्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गरेको भन्दै उनको व्यापक प्रशंसा भएको थियो। लामो समयसम्म श्रीलंकाको राजनीतिमा यो परिवारको एकछत्र प्रभाव रह्यो।
तर, सन् २०२२ मा देश चरम आर्थिक संकट, खाद्यान्न तथा इन्धन अभावमा फसेपछि चर्किएको जनआन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेसहित यो परिवार सत्ताबाट बाहिरिन बाध्य भएको थियो।
यसअघि, महिन्दा र सिरान्थीका जेठा छोरा नमल राजापाक्षेलाई आफ्ना बुबाको कार्यकालमा भएको विमान खरिद घोटाला प्रकरणमा पक्राउ गरी हाल न्यायिक हिरासतमा राखिएको छ। उनका अर्का छोरा योशिता पनि यस वर्षको सुरुमा भ्रष्टाचारकै आरोपमा पक्राउ परेका थिए।
असोज २२, २०८३ बिहीबार ०७:५३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।