गर्भवती महिलाको उपचारमा गम्भीर लापरबाही गरेको आरोपमा चिकित्सक डा. मोनिका विरुद्ध मेडिकल काउन्सिलमा उजुरी

गर्भवती महिलाको उपचारमा गम्भीर लापरबाही गरेको आरोपमा चिकित्सक डा. मोनिका विरुद्ध मेडिकल काउन्सिलमा उजुरी

काठमाडौं : सूर्या आइभिएफ एन्ड हस्पिटलमा कार्यरत चिकित्सक डा. मोनिका यादव सिंहले उपचारका क्रममा गम्भीर चिकित्सकीय लापरबाही गरेको भन्दै मेडिकल काउन्सिलमा उजुरी परेको छ। रौतहट यमुनामाइकी २७ वर्षकी गर्भवती  गुन्जा कुमारी सिंहको तर्फबाट बुधवार काउन्सिलमा उजुरी दर्ता भएको हो। काउन्सिलले उजुरी दर्ता गरेर त्यसलाई इथिकल समितीमा पेश गर्ने तयारी गरेको छ।

उजुरीमा नियमित स्वास्थ्य परीक्षणका वीरगन्जमा रहेको सूर्या  हस्पिटलमा असोज ८ गते  ११ बजे  पुगेकी उनलाई  उक्त अस्पतालमा कार्यरत चिकित्सक डा. मोनिका यादव सिंहले उपचारका क्रममा गरेको गम्भीर चिकित्सकीय लापरबाही र चिकित्सकीय पेसा सम्बन्धी खराब आचरणका कारण सिंहको दुवै मिर्गौला फेल भएको दाबी गरिएको छ।

उजुरीमा गम्भीर चिकित्सकीय लापरबाही तथा चिकित्सकीय पेसा सम्बन्धी खराब आचरण गरेको भन्दै डा. मोनिका यादव सिंहलाई चिकित्सकीय अभ्यास तथा पेसा गर्न नपाउने गरी नेपाल मेडिकल काउन्सिलको दर्ता किताबबाट नाम हटाउन”  माग गरिएको छ।

उकेराको सम्पर्कमा आएका गुन्जा सिंहको परिवारले दिएको उपचार सम्बन्धी विवरण एक चिकित्सकलाई देखाएको थियो। त्यसमा लगभग ३६ हप्ताकी गर्भवती रहेको सिंहको उपचारमा चिकित्सक यादवले गम्भीर लापरबाही गरेको बताए।

घटना विवरण अनुसार गर्भवती सिंहलाई नियमित परीक्षणका लागि वीरगन्जस्थित नर्भ अस्पताल लगिएको थियो। त्यस समयमा बिरामी गुन्जा लगभग को तत्काल शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा चिकित्सक यादवले दुई दिनसम्म अस्पतालमा भर्ना गरिन्।

गर्भमा रहेको बच्चाको तौल करिब २.५ किलोग्राम पुगिसकेको थियो। अस्पतालकी कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. यादवले अल्ट्रासाउन्ड गराउन सल्लाह दिएकी थिइन्। अल्ट्रासाउन्ड रिपोर्टमा 'प्लासेन्टल इन्सफिसिएन्सी' अर्थात् बच्चाको सालबाट जाने रगतको मात्रा कम भएको देखियो।

ती चिकित्सकका अनुसार मेडिकल प्रोटोकल अनुसार सालबाट रगतको आपूर्ति कम भएको अवस्थामा तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने स्पष्ट निर्देशन हुन्छ। तर डा. यादवले शल्यक्रिया नगराई बिरामीलाई २ दिनसम्म अस्पतालमा भर्ना गरेर राख्न सल्लाह दिइन्। सोही सल्लाह बमोजिम सिंहलाई अस्पतालको क्याबिनमा भर्ना गरियो र आकस्मिक कक्ष बाट उनको हातमा क्यानुला जडान गरियो।

गुञ्जालाई क्याबिनमा भर्ना गरिएको करिब ९ घण्टापछि अस्पतालकी एक नर्सले स्लाइन जोड्न आइन्। तर स्लाइनको थोपा नझरेपछि गुञ्जाकी सासूले नर्सलाई बारम्बार बोलाइन्। नर्सले बेवास्ता गर्दै करिब २० मिनेटपछि आएर, स्लाइनको ब्लकेज खुलाउन नखोजी ठूलो सिरिन्ज लिएर क्यानुलाबाट जोडले पुस गरिदिइन्। त्यस लगत्तै गुन्जा सिंहलाई छाती र ढाडमा अत्यधिक र असह्य दुखाइ सुरु भयो। बिरामीको अनुहार र आँखा अत्यधिक रातो भयो र शरीर काम्न थाल्यो।

बिरामीको यो गम्भीर अवस्था देखेर उनकी सासू आत्तिएर डा. यादवलाई बोलाउन आग्रह गरिन्। नर्सले हतार-हतार अर्को हातमा क्यानुला खोलेर स्लाइन सुरु गरिन्। तर करिब ३० मिनेट बित्दा पनि डाक्टर नआएपछि बिरामीका श्रीमानले डा. सरोज सिंहलाई बारम्बार फोन गरे। केही बेरमा डा. मोनिका सिंह यादव रिसाउँदै र झोक्किँदै आइन् र बिरामी पक्षलाई हप्काउँदै भनिन् 'तपाईँको बिरामीले नाटक गर्दैछ, केही भएको छैन।' डाक्टरले उल्टै 'धेरै हल्ला गर्नुभयो भने शल्यक्रिया गरिदिन्न' भनेर धम्क्याएको परिवारको दाबी छ । 

जब नर्सले बिरामीको रक्तचाप जाँच गरिन्, रक्तचाप घटेर ९०/४०एमएमएचजीमा पुगिसकेको थियो। बिरामीलाई 'एनफाइल्याक्टिक शक' (गम्भीर एलर्जिक रियाक्सन) भएको ठहर गरी एभिल र डेक्सोना इन्जेक्सन दिइयो। तर एनफाइल्याक्टिक शकको उपचारमा जीवनरक्षक मानिने मुख्य इन्जेक्सन एपिनेफ्रिन किन दिइएन भन्ने प्रश्न उठेको उकेराको सम्पर्कमा आएका ती चिकित्सकले बताए । 

उनका अनुसार रक्तचाप घटेपछि गर्भमा रहेको बच्चाको मुटुको धड्कन घट्न थालेको भन्दै हतार-हतार आपत्कालीन शल्यक्रिया गर्नुपर्ने बताइयो। बिरामीलाई अप्रेसन थिएटर मा लगियो। तर, यस्तो गम्भीर र संवेदनशील अवस्थामा पनि बिरामीको कुनै पनि रगत परीक्षण (Blood Test like Hb, Platelet, RFT, PT/INR) गरिएन,  रगतको व्यवस्थापन गर्न समेत लगाइएन।

“कुनै पनि आधारभूत रगत जाँच नगरीकनै बिरामीलाई 'जनरल एनेस्थेसिया' (पूर्ण बेहोस बनाउने औषधी) दिएर शल्यक्रिया गरेको देखियो” नाम बताउन नचाहेका ती चिकित्सकले भने। 

शल्यक्रिया पश्चात् बिरामीको पेटमा ड्रेन हालिएको पाइयो। तर त्यो ड्रेन किन हालियो भन्ने कुरुवा तथा आफन्तलाई जानकारी गराइएन। आन्तरिक रक्तस्रावको कारणले ड्रेन हालिएको थियो भने, आफन्तलाई रगतको व्यवस्था गर्न किन भनिएन? साथै मेडिकल अफिसरको नोट अनुसार बेलुका ८:४५ बजे सिजरियन सेक्सन सम्पन्न भएको लेखिएको छ, तर नर्सको नोट अनुसार ९:०० बजे मात्र पोस्ट-अपरेटिभ भाइटल लिइएको देखियो।

१५ मिनेटभित्र जनरल एनेस्थेसियामा गरिएको शल्यक्रिया सकेर भाइटल लिन सम्भव नहुने भएकाले मेडिकल रेकर्डमा मनिपुलेसन गरिएको ती चिकित्सकको शंका छ।  शल्यक्रिया पश्चात् डा. यादवले गुञ्जाकी सासूलाई बोलाएर 'आफूले दुई पटकसम्म पेट खोलेर भित्र केही छुटेको छ कि भनेर खोजेको' जानकारी दिएकी थिइन्। 

यसरी एउटै शल्यक्रियाका क्रममा दुई पटकसम्म पेट खोलेर हेर्नुपर्ने अवस्था किन आयो? यदि अत्यधिक रक्तस्राव भएर दुई पटक पेट खोलिएको हो भने सो कुरा अप्रेसन नोट मा किन लेखिएन? जब सासू गुञ्जालाई भेट्न अप्रेसन थिएटरमा छिरिन्, गुञ्जाको ओटी गाउन पूरै रगतले लतपतिएको अवस्थामा थियो। सो देखेपछि त्यहाँ उपस्थित डाक्टर र नर्सले सासूलाई हप्काएर बाहिर पठाएका थिए।

शल्यक्रिया पश्चात् ५-६ घण्टा बित्दा पनि बिरामीको पिसाब नआएपछि ८ पिन्ट स्लाइन पानी दिइएको देखिन्छ। यसरी अत्यधिक स्लाइन दिँदा बिरामीमा 'हिमोडाइलुसन' भई मिर्गौलाको कार्यक्षमता झन् खस्कियो। पिसाब पूर्ण रूपमा ठप्प भएको अवस्थामा पनि बिरामीलाई म्याग्नेसियम सल्फेट औषधि चलाइयो। चिकित्सा विज्ञानमा MgSO4 लाई अत्यन्त 'नेफ्रोटक्सिक' (मिर्गौलालाई क्षति पुर्याउने) औषधि मानिने ती चिकित्सकले बताए।  मिर्गौलाले काम गर्न छाडेको अवस्थामा यो औषधि चलाएर बिरामीको मिर्गौला थप बिगारिएको उनको दाबी छ।

असोज ९ गते बिहान १० बजेतिर बिरामी गुन्जा सिंहको दुवै मिर्गौला फेल भएको जानकारी दिइयो र डायलासिसका लागि अर्को अस्पताल पठाइयो। त्यतिबेलासम्म पनि कुनै रगत जाँच गरिएको थिएन। डायलासिस गराउने स्टाफबाट डा. यादलवले शल्यक्रिया गरेका अन्य धेरै बिरामीहरूको पनि यसै गरी मिर्गौला ड्यामेज भएर सोही ठाउँमा डायलासिस गर्न पठाइएको खुलेको परिवारको दाबी छ।

असोज ३ गते बेलुका ६:३० बजे बल्ल रगतको नमुना जाँचका लागि पठाइयो। अत्यन्त उच्च - शरीरभरि गम्भीर संक्रमण/सेप्सिस फैलिएको संकेत देखियो। उनको दुवै मिर्गौला खराब भयो। उजुरीमा डा. मोनिका सिंह यादवको खराब व्यवहार, बिरामीप्रतिको लापरबाही र ओभर कन्फिडेन्सका कारण यो दुर्घटना भएको दाबी छ। 

असोज २१, २०८३ बुधबार २१:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।