धनकुटामा दुर्घटनाग्रस्त स्कोर्पियोमा ३४१ किलो गाँजा भेटियो, एक जना पक्राउ
धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित स्काईवाक नजिक भित्री सडक खण्डमा दुर्घटना भएको एक स्कोर्पियो गाडीबाट प्रहरीले ३४१ किलो लागू औषध गाँजा बरामद गरेको छ। साथै दुर्घटनास्थल नजिकैबाट एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
धनकुटाबाट भेडेटारतर्फ आइरहेको बा १३ च ६२७५ नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । जिप सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गाडी जाँच गर्दा गाडीभित्र बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा ३४१ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनाग्रस्त गाडीभित्र कोही नभेटिए पनि दुर्घटनास्थल नजिकै शंकास्पद अवस्थामा भेटिएका ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१० बस्दै आएका टंक विश्वकर्माका छोरा अमितलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज २१, २०८३ बुधबार १९:११:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।