मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आन्दोलन चर्किँदै, कक्रोच जनता पार्टीले भन्यो- 'उनी देशद्रोही हुन्, पक्राउ नगरेसम्म पछि हट्दैनौँ'
एजेन्सी : भारतका प्रमुख निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा र निर्वाचन आयोगमा व्यापक सुधारको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) सहित विभिन्न विपक्षी दल, विद्यार्थी संगठन तथा अभियन्ताहरूले आन्दोलन चर्काएका छन्।
मंगलबार नयाँदिल्लीमा प्रदर्शन गर्दै निर्वाचन आयोगतर्फ मार्च गरेका प्रदर्शनकारीले अक्टोबर १० मा जन्तरमन्तरमा थप ठूलो प्रदर्शन गर्ने तयारी गरेका छन्।
राजनीतिक दबाब समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजित दिप्केले सीईसी ज्ञानेश कुमारविरुद्ध अक्टोबर १० मा नयाँदिल्लीस्थित जन्तरमन्तरमा नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।
बुधबार सीजेपीका सह-संयोजक सौरव दासले दिल्लीको संसद मार्ग प्रहरी थाना पुगेर अक्टोबर १० को प्रदर्शनबारे औपचारिक जानकारी पत्र दर्ता गराए। उनले प्रदर्शनमा ठूलो संख्यामा मानिस सहभागी हुने अपेक्षा गरिएको भन्दै प्रहरीलाई त्यसबारे जानकारी गराइएको बताए।
उनले भने, “सीजेपी र देशका सबै युवा, अर्थात् सबै साथीहरू अक्टोबर १० मा जन्तरमन्तर पुग्नेछन्। हामीले दिल्ली प्रहरीलाई औपचारिक रूपमा जानकारी गराएका छौँ र कानुन तथा शान्ति व्यवस्था कायम राख्ने क्रममा हामीसँग सहकार्य गर्न अनुरोध गरेका छौँ।”
उनले प्रदर्शन गर्ने बारे प्रहरीले 'पूर्वजानकारी नदिइएको' बहाना बनाउन नपाओस् भनेर औपचारिक पत्र दर्ता गराइएको र प्रदर्शनका क्रममा प्रहरीसँग पूर्ण सहकार्य गरिने बताए।
"आज सम्पूर्ण कक्रोच जनता पार्टीको टोली दिल्ली प्रहरीलाई जानकारी गराउन आएको हो कि हामी सबै अक्टोबर १० मा जन्तरमन्तरमा भेला हुनेछौँ। जन्तरमन्तर तोकिएको प्रदर्शनस्थल हो र ऐतिहासिक रूपमा पनि यहाँ शान्तिपूर्ण प्रदर्शन हुँदै आएका छन्। मैले एउटा पत्र तयार गरेको छु, जसमा हामी प्रहरीसँग पूर्ण रूपमा सहकार्य गर्नेछौँ र प्रहरीले पनि हामीसँग सहकार्य गर्ने आशा राखेका छौँ भनेर उल्लेख गरिएको छ। दिल्लीको जन्तरमन्तरमा ठूलो प्रदर्शन हुने जानकारी हामीले उनीहरूलाई दिएका छौँ। हामीले यसअघि नै जानकारी गराइसकेका थियौँ, तर पछि प्रहरीले औपचारिक रूपमा जानकारी दिइएको थिएन भनेर भन्न नसकोस् भनेर आज औपचारिक रूपमा जानकारी गराउन आएका हौँ,” उनले भने।
प्रहरीले पत्र प्राप्त गरे पनि हालसम्म प्रदर्शनका लागि अनुमति भने दिएको छैन।
राजीनामा मात्र होइन, संरचनागत सुधार हुनुपर्छ
सीजेपीका सह-संयोजक सौरव दासले सीईसी ज्ञानेश कुमारले राजीनामा दिए पनि आफूहरू आन्दोलनबाट पछि नहट्ने बताएका छन्। उनले निर्वाचन आयोगमा संरचनागत सुधार, एसआईआर रोक्नुपर्ने तथा एसआईआरका क्रममा भएका भनिएका अवैध निर्णयबारे छानबिन हुनुपर्ने माग अघि सारे।
दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै दासले भने, “ज्ञानेश कुमारले राजीनामा दिए पनि हामी पछि हट्ने छैनौँ। हामी निर्वाचन आयोगमा उचित सुधार चाहन्छौँ। अन्यथा निर्वाचन आयोग कहिल्यै निष्पक्ष हुन सक्दैन। हामीले कुमारले राजीनामा दिनुपर्ने र उनी पक्राउ पर्नुपर्ने सुनिश्चित गर्नुपर्छ। हामी प्रणालीगत सुधार चाहन्छौँ, एसआईआर रोक्नुपर्छ, एसआईआरका क्रममा भएका अवैध निर्णयबारे छानबिन हुनुपर्छ। सरकारले कुमारजस्ता व्यक्तिलाई यस्तो पदमा बस्न नदिने सुनिश्चित गर्नुपर्छ। अन्यथा हामी फर्कने छैनौँ। म सबैलाई आउन आग्रह गर्छु। आफ्नो झोला प्याक गर्नुहोस्। यो लामो संघर्ष हुनेछ।”
सौरव दासले सीईसी ज्ञानेश कुमारविरुद्ध गम्भीर आरोपसमेत लगाएका छन्। उनले ज्ञानेशकुमारलाई ‘देशद्रोही’ तथा ‘राष्ट्रविरोधी’को संज्ञा दिए।
उनले भने, “ज्ञानेश कुमार देशद्रोही हुन्, देशका नम्बर एक देशद्रोही हुन्, वास्तविक राष्ट्रविरोधी हुन्। अहिले सर्वोच्च अदालतले पनि उनलाई देशकै नम्बर एक झूट बोल्ने व्यक्ति भनेको छ।"
यसअघि अक्टोबर ६ मा पत्रकार सम्मेलन गर्दै सीजेपीका संस्थापक अभिजित दिप्केले ‘एक राष्ट्र, एक निर्वाचन’ केवल नारा मात्रै भएको दाबी गरे। उनले सत्तारूढ पक्षको वास्तविक उद्देश्य देशलाई ‘एक राष्ट्र, एक राजनीतिक दल’तर्फ लैजानु रहेको आरोप लगाए।
उनले भने, “एक राष्ट्र, एक निर्वाचन केवल नारा हो। सत्तारूढ पक्षको वास्तविक उद्देश्य देशलाई ‘एक राष्ट्र, एक राजनीतिक दल’तर्फ धकेल्नु हो।”
उनले महाराष्ट्र प्रहरीले सीजेपीका प्रदर्शनकारीहरूलाई दिल्लीको प्रदर्शनमा सहभागी हुन नदिन दबाब दिएको आरोपसमेत लगाए।
उनले भने, “चन्द्रपुर प्रहरीले सीजेपीका कार्यकर्तालाई जन्तरमन्तरको प्रदर्शनमा सहभागी नहुन भन्दै सूचना दिएको कुरा निकै दुःखद् छ। उनीहरूले जन्तरमन्तर जानका लागि यात्राको खर्चको स्रोतसमेत सोधे। प्रहरीले सूचनामा आन्दोलन हिंसात्मक हुने उल्लेख गरेको छ। आन्दोलन हिंसात्मक हुने कुरा प्रहरीले यति चाँडै कसरी थाहा पायो? के उनीहरूले यसअघि नै केही योजना बनाएका छन्?”
उनले थपे, “महाराष्ट्र प्रहरी दिल्ली प्रहरीजस्तै किन व्यवहार गरिरहेको छ? चन्द्रपुरबाट कुनै व्यक्ति दिल्ली जान लागेको विषयमा उनीहरूलाई के सरोकार छ?”
अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआईएसए) की अध्यक्ष नेहा बोराले अक्टोबर १० को प्रदर्शनअघि सबैलाई एकजुट हुन आह्वान गरेकी छन्। उनले विगतमा सबै एक ठाउँमा उभिँदा एक जना क्याबिनेट मन्त्रीले राजीनामा दिनुपरेको स्मरण गर्दै यसपटक पनि त्यस्तै एकता र संघर्ष प्रदर्शन गर्ने बताइन्।
उनले भनिन्, “पछिल्लो पटक हामी सबै एउटै ठाउँमा उभिएका थियौँ, त्यतिबेला क्याबिनेट मन्त्रीले राजीनामा दिनुपरेको थियो। यसपटक पनि हामी त्यही एकता र संघर्ष आन्दोलनका लागि देखाउनेछौँ।”
सीईसी ज्ञानेश कुमारको राजीनामा माग्दै विपक्षी दलहरू एक ठाउँमा आएका छन्। मंगलबार इन्डिया गठबन्धनका कैयौँ सांसदले सीईसीलाई पदबाट हटाउन माग गर्दै नयाँदिल्लीमा प्रदर्शन गरेका थिए र निर्वाचन आयोगतर्फ मार्च गरेका थिए।
प्रदर्शनका क्रममा कांग्रेस सांसद राहुल गान्धी, प्रियंका गान्धी, केसी वेणुगोपाल र पवन खेरा लगायतका धेरै नेता आकाशवाणी भवनमा धर्नामा बसेपछि केही समयका लागि नियन्त्रणमा लिइएको थियो।
विपक्षी नेताहरूको प्रदर्शन निर्वाचन आयोगले गरेका निर्णयमा अनियमितता भएको आरोपपछि भएको हो। विशेषगरी ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ अर्थात् विशेष गहन पुनरावलोकन (एसआईआर) लाई लिएर विपक्षी दलहरूले लामो समयदेखि प्रश्न उठाउँदै आएका छन्।
गत वर्षको बिहार विधानसभा निर्वाचनका क्रममा सुरु भएको एसआईआर अहिले देशव्यापी रूपमा अघि बढाइएपछि यो विषय थप विवादको केन्द्रमा छ।
असोज २१, २०८३ बुधबार १८:१३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।