बिर्तामोडको फर्निचर उद्योगमा आगलागी, पाँच घरमा क्षति
झापा : बिर्तामोड नगरपालिका- ४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो। आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
"मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ," उनले भने, "क्षतिको विवरण सङ्कलन भइरहेको छ।"
आगलागी नियन्त्रणका लागि चार वटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका थिए। उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
असोज २१, २०८३ बुधबार १६:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।