आज दिनभर झरी, शनिबारदेखि मात्रै मौसममा सुधार हुने
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने भएको छ।
यो क्रम शुक्रबारसम्म जारी रहने र शनिबारदेखि मात्रै मौसममा क्रमशः सुधार आउने नेपाल मौसम विज्ञान विभागले जनाएको छ।
“अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ, ” लामिछानेले भने।
विभागका अनुसार आज पूर्वी क्षेत्रमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर वर्षा मापन भएको छ। यो वर्षा भारी हो।
हाल काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
असोज २१, २०८३ बुधबार १२:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।