कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार साँझ ६ बजेर ५ मिनेटमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।
यसअघि पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री बनेका थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापति चयन भएका थिए। पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा वकालत गरिरहेका थापाले अर्का तत्कालीन महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशनको आह्वान गरेका थिए।
निर्धारित समयभित्र नियमित महाधिवेशन नहुने अवस्था देखिएपछि महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम महामन्त्रीको हैसियतमा विशेष महाधिवेशनको आह्वान गरेपछि उनीहरूलाई १४ औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिले कारबाही समेत गरेको थियो।
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट विशेष महाधिवेशनले मान्यता पाएपछि कांग्रेसमा शक्ति सन्तुलन फेरियो। यद्यपि सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएको फैसलालाई पुनरावेदन गर्ने निर्णय गरेको छ। तर, १५ औँ महाधिवेशन गर्न बाधा नरहेको भनेपछि पार्टीका पूर्व सभापति शेरबहादुर देउवा पक्ष सहभागिताबिनै महाधिवेशन भइरहेको छ।
असन्तुष्ट देउवा पक्षले पनि छुट्टै अधिवेशनका कार्यक्रम गरिरहेको छ। तर, विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिको नेतृत्वमा भइरहेको १५ औँ महाधिवेशनमा ठूलो संख्यामा देउवा पक्षमा रहेका नेताहरूको सहभागिता देखिएको छ। सभापति गगन थापा पार्टीको आन्तरिक एकताको लागि देउवा पक्षले उठाएका माग सम्बोधन गर्न सहमति भएपछि उनीहरू महाधिवेशनमा सहभागी भएका हुन्। तर, देउवासहित केही उनी पक्षका पुराना नेताहरू भने सहभागी भएनन्।
सभापति पदमा यसअघि श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको थियो। निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीहरू छुट्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मनोनयन दर्ताको समय बढाएर साँझ ७ बजेसम्म निर्धारण गरेको छ।
असोज २०, २०८३ मंगलबार १८:४४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।