कांग्रेस १५औँ महाधिवेशन : मतदाता नामावली प्रकाशित, आजै राष्ट्रिय सभागृहबाट उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि (मतदाता) हरूको प्रथम नामावली गएराति प्रकाशित भएको छ।
पार्टीको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिकाबमोजिम केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको सूची पार्टीको आधिकारिक वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ।
नामावलीमा ७७ वटै जिल्लाका प्रतिनिधिहरूका साथै विदेशस्थित विभिन्न नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरू समेत गरी ७ हजार १ सयभन्दा बढी मतदाताको विवरण समावेश छ।
मनोनयन दर्ता राष्ट्रिय सभागृहमा हुने
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ।
उम्मेदवारीको फारम वितरण तथा उम्मेदवारी दर्तासम्बन्धी सम्पूर्ण कार्य राष्ट्रिय सभागृहबाटै सञ्चालन हुने जानकारी उनले दिएका छन्।
हाल प्रकाशित प्रथम नामावलीमा केही नामहरू समावेश हुन बाँकी रहेको र दाबी विरोधको प्रक्रियापछि अन्तिम नामावली प्रकाशन गर्दा ती नामहरू समेटिने समितिले जनाएको छ।
सदस्य सचिव कटुवालका अनुसार पार्टी सभापतिबाट मनोनीत भएका तथा विभिन्न भातृ एवं शुभेच्छुक संगठनहरूबाट सिफारिस भएर आएका प्रतिनिधिहरूको नाम उनीहरूको सम्बन्धित गृह जिल्लाको सूचीमै थपिने व्यवस्था मिलाइएको छ।
यस्तो छ आजको संशोधित कार्यतालिका:
निर्वाचन समितिले नामावली प्रकाशनसँगै उम्मेदवारी दर्तासम्मको संशोधित कार्यतालिका पनि सार्वजनिक गरेको छ।
मतदाता नामावलीमाथि दाबी विरोध बिहान ९:३० बजेसम्म हुनेछ भने दाबी विरोध उपर जाँचबुझ १०:३० बजेसम्म अनि मनोनयन दर्ता फारम वितरण बिहान १० बजेदेखि सुरु हुनेछ।
त्यसैगरी मतदाताको अन्तिम नामावली प्रकाशन बिहान ११:३० बजे हुँदा उम्मेदवारीका लागि दरखास्त/मनोनयन दर्ता दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहनेछ।
निर्वाचन कार्यक्रमअनुसार बाँकी कार्यतालिका भने यथावत रहने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्का र सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा उल्लेख छ।
असोज २०, २०८३ मंगलबार ०८:०६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।