उद्योगका समस्या सुल्झाउन निरन्तर फलोअप गर्छौँ : सभापति अन्सारी
काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रका नीतिगत एवम् व्यावहारिक समस्या सुल्झाउन सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय र फलोअप गरी अघि बढ्ने जनाएको छ।
समितिको पछिल्लो बैठकमा उद्योगी-व्यवसायीका समस्या तथा समाधानका उपायबारे आयोजना गरिएको छलफलमा बोल्दै समिति सभापति रहबर अन्सारीले व्यवसायीका मागलाई समितिले गम्भीरताका साथ लिएको बताए। प्राप्त सुझाव र समस्याका आधारमा सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक निर्देशन दिने र नतिजा नआएसम्म निरन्तर ताकेता गरिने उनले स्पष्ट पारे।
उनले भने, "उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याहरूको समाधानका लागि हामी सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वयमा छौँ। उद्योगी व्यवसायीहरूले उठाउनुभएका समस्याहरूलाई समितिले गम्भीरतापूर्वक लिएको छ। बैठकमा प्राप्त सुझाव र समस्याहरूलाई सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरेर समाधानका लागि आवश्यक निर्देशन र पहल गर्छौँ। आजको बैठकमै विषय टुंगिने होइन, यसलाई निरन्तर फलोअप गरेर परिणाममा पुर्याउने हाम्रो उद्देश्य हो।"
सभापति अन्सारीका अनुसार उद्योग क्षेत्रका समस्याहरूलाई तत्काल, मध्यमकालीन र दीर्घकालीन गरी तीन चरणमा वर्गीकरण गरेर समाधान खोजिनेछ।
उनले भन्सारमा बन्द रहेका वा बिग्रिएका स्क्यानरलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिने बताए। त्यस्तै, विभिन्न स्थानीय तहमा देखिएको कवाडी करको समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने उनले बताए। यस्तै, चिनी तथा खाना पकाउने ग्यासलगायतका अत्यावश्यक वस्तुको आपूर्ति र बजार व्यवस्थापनबारे सरकारसँग नियमित समन्वय भइरहेको उनले जानकारी दिए।
असोज १९, २०८३ सोमबार १७:३४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।